टुङ्गिन बाँकी नेकपा पार्टी एकता, भागबण्डामैं अल्झियो २८ महिना !

तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको घोषणा भएको २८ महिना बितिसकेको छ । मदन भण्डारीको स्मृति दिवस पारेर २०७५ जेठ ३ गते दुई पार्टीबीच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा गरेका थिए । पार्टी एकता घोषणापछि तीन महिनाभित्रै पार्टी एकता प्रक्रियालाई पूर्णता दिने भनिए पनि २८ महिना बितिसक्दा पनि पार्टी एकताले पूर्णता पाउन अझै सकिरहेको छैन ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी कामहरू असोज महिनाभित्र टुङ्ग्याउने निर्णय गरेको थियो । असोज ६ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेललाई पार्टी एकताका बाँकी काम सक्ने कार्ययोजना बनाउन दश दिनको समय दिएको थियो । उक्त समय सीमा असोज १६ गते सकिए पनि अहिलेसम्म अध्यक्षद्वय र महासचिवले पार्टी एकताको कार्ययोजना बनाउन सकेको देखिंदैन । स्थायी कमिटीको निर्णयअनुसार असोज महिनाभित्र पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अब चारदिन मात्रै बाँकी रहँदा त्यो असम्भव देखिएपछि नेकपाकै नेताहरूमा समेत आशंका पैदा भएको छ ।



यसबीचमा पनि नेकपाका अध्यक्षद्धयबीच पटकपकट भेटर्वार्ता भए पनि एकता प्रक्रियाले पूर्णता पाउने सकिरहेको छैन, जसले गर्दा नेताहरूले एकता पक्रिया टुङ्गोमा नपुग्नुको मुख्य दोष नेतृत्वलाई दिदै आएका छन् । तर पार्टीभित्र अध्यक्षद्वयले छिट्टै एकता प्रक्रिया टुङ्गिने आश्वास भने बेलाबेला दिदै आएका छन् ।

यी हुन् एकताका बाँकी काम

नेकपाको नेतृत्व तह नै पार्टी एकताभन्दा सरकारका काम कारबाहीमा बढी केन्द्रित देखिन्छ । नेकपाको ध्यान पार्टी एकता प्रक्रियालाई पूर्णता दिनेभन्दा बढी मन्त्रीपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति र पार्टीभित्रकै पनि शक्ति बाडफाडमा केन्द्रित देखिन्छ । यी र यस्तै विविध कारणले गर्दा नेकपामा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय सङ्गठनहरू र प्रवास क्षेत्रको सङ्गठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्नेलगायतका काम बाँकी नै छन् ।

महाधिवेशनलाई असर

पार्टी एकता हुँदा दुई वर्षभित्र पार्टी महाधिवेशन सम्पन्न गर्ने लक्ष्य निर्धारण गरे पनि त्यो समय सीमा यसअघि नै नाघिसकेको छ । अब नेकपाको महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा हुने र त्यसको तयारीका सम्बन्धमा छलफलका लागि कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइने गत भदौं २६ गतेको नेकपा स्थायी कमिटी बैठकले निर्णय गरेको छ । तर पार्टी एकता प्रक्रियाका बाँकी कामहरूले पूर्णता पाउन नसक्दा त्यसले आगामी महाधिवेशनलाई असर पार्ने देखिन्छ ।

सम्बन्धित समाचार