नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असाेज ।

नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि सरकारले लकडाउनबारे निर्णय लिन सकेको छैन । संक्रमितको संख्या दैनिक ५ हजार नाघेपछि विज्ञहरुले सरकारलाई लकडाउन गर्न सुझाव दिएका छन्। काठमाडौंमा राम्रोसँग परीक्षण नभएको र व्यापक परीक्षण गर्ने हो संक्रमितको संख्या कयौँ गुणाले बढ्ने विज्ञहरुको अनुमान छ।
काठमाडौंका अस्पतालमा बिरामीको चाप पनि थामिनसक्नु भएको छ। संक्रमितले बेड नै नपाउने अवस्था सिर्जना भइसकेको छ। स्वास्थ्य मन्त्रालयका केही विज्ञ डाक्टरहरुले पनि कम्तीमा २ हप्ता लकडाउन गर्न आग्रह गरेका थिए।
तर, सरकारले लकडाउन गर्ने विषयमा कुनै तयारी नभएको जनाएको छ। दशैं, तिहारजस्ता ठूला चाडमा लकडाउन गर्दा झन् समस्या थपिने भन्दै सरकार हच्किएको हो।
शनिबार र आइतबार बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पनि यसबारे छलफल भएको छ। सीसीएमसीले मन्त्रालयको सहमतिमा लकडाउनको सिफारिस गरेपछि मात्रै मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजान्छ। अहिलेसम्म मन्त्रालयमा लकडाउनका विषयमा कुनै फाइल तयार नभएको स्रोतले जनायो।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि यस विषयमा छलफल भएको थियो। सो छलफलमा पनि प्रधानमन्त्री ओलीले लकडाउन नगर्ने मनसाय व्यक्त गरेका थिए। दशैंतिहारमा लकडाउन नगर्ने, यदि संक्रमितको संख्या नियन्त्रणमा नआए त्यसपछि लकडाउन गर्नुपर्ने प्रधानमन्त्रीको विचार छ।
