नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना कहरका कारण यसपटक बडादशैंलगायतका चाडपर्वहरूमा प्रत्यक्ष रूपमा उपस्थित भएर गरिने शुभ–कामना आदान–प्रदान कार्यक्रमहरू पनि प्रभावित बनेका छन् । यसै क्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, केन्द्रीय समितिले पनि एक विज्ञप्ति प्रकाशन गरी यस वर्षको विजयादशमी, दीपावली, छठ एवम् नेपाल संवतलगायतका पर्वमा मनाउँदै आएको शुभ–कामना आदान प्रदान कार्यक्रम स्थगित गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘त्रिवि प्राध्यापक संघ केन्द्रीय समितिले प्रत्येक वर्ष प्रत्यक्ष रूपमा मनाउँदै आएको विजया दशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल संवत्कोे शुभ–कामना आदान– प्रदान कार्यक्रम कोभिड–१९ सम्वन्धी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार र कोरोना भाइरसको संक्रमण काठमाडौमा तेज गतिमा फैलिएको कारण यस वर्ष प्रत्यक्ष रूपमा मनाउने कार्य स्थगित गरिएको व्यहोरा जानकारी गराउदछौं ।’
संघका सभापति वसन्त ढकाल र महासचिव केशवराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ ‘साथै सम्पूर्ण प्राध्यापक, पदाधिकारी, कर्मचारी, विद्यार्थी, अविभावक एवं देशबासी वन्धु–वान्धवहरूमा विजया दशमी, शुभ–दीपावली, छठ पर्व २०७७ एवं नेपाल सम्वत् ११४१ को पावन अवसरमा सुख–शान्ति, सुस्वास्थ, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।’

