नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असाेज ।

नेकपा कर्णाली प्रदेशमा प्रधानमन्त्री केपी ओलीसमूह एक्लिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह मिलेपछि ओली समूह एक्लिएको हो । यससँगै संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् । कालीकोटका प्रदेशसभा सदस्य शाहीलाई मुख्यमन्त्री तथा दलका नेताले सचेतक नियुक्त गरेका हुन् । मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि उनले नेपालसमूहसँग सहमति गरेका थिए । सचेतक र तीन मन्त्री दिने सहमतिपछि दुई पक्षबीच कुरा मिलेको छ ।
मुगुका चन्द्रबहादुर शाहीलाई भौतिक पूर्वाधार तथा विकासमन्त्री बनाउने तयारी भएको छ । दैलेका अमरबहादुर थापा र जाजरकोटका करवीर शाहीको भने मन्त्रालय टुंगो लागिसकेको छैन । प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री रिक्त भएपछि चन्द्रबहादुर शाहीको नाम त्यतिबेलै नेपाल समूहले मुख्यमन्त्री शाहीलाई बुझाएको थियो । तर, उनलाई मन्त्री नियुक्त नगरी मुख्यमन्त्री आफैंले मन्त्रालय राखेपछि विवाद बढेको थियो ।
अहिले उनैलाई मन्त्री बनाउनेगरी सहमति जुटेको हो । नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री शाही बहुमतमा पुगेका छन् । पूर्वमाओवादी केन्द्रले पनि केही मन्त्री थप्ने तयारी गरेको छ । यसअघि तीन गुटबाट दुई दुईजना मन्त्री नियुक्त गरिएको थियो । योसँगै प्रदेशमा नेपालसमूहका ४ जना मन्त्री हुनेछन् । प्रकाश ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री यसअघि नै थिए । स्रोतका अनुसार पूर्व माओवादीका तीनजनाले पनि अविश्वासको प्रस्ताव फिर्ता लिएका छन्। त्यसबापत पूर्वमाओवादीबाट पनि थप मन्त्री बनाउन शाही तयार भएका छन्।
