यी हुन् कोरोनाको ‘रेड जोन’मा परेका काठमाडौंका १० स्थान, सिल गरेर परीक्षण तीव्र पार्ने तयारी

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका व्यापारिक क्षेत्रदेखि मानिसको चाप बढी हुने क्षेत्र ‘रेड जोन’मा रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको रोग नियन्त्रण महाशाखा र उच्चस्तरीय महामारी व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हरेक हप्ता काठमाडौंको ‘रेड जोन’ क्षेत्रको मूल्यांकन गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीन सयभन्दा माथि संक्रमित भएको क्षेत्र अर्थात् वडालाई ‘रेड जोन’मा राखिएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार काठमाडौं महानगरपालिकाभित्र कोरोना नियन्त्रणभन्दा बाहिर गएको छ । महानगरका ३२ वडामध्ये वडा नं. १५ स्वयम्भू, वडा नं. १६ सोह्रखुट्टे, वडा नं. ३२ कोेटेश्वर, वडा नं. १४ कलंकी, वडा नं. ३ महाराजगन्ज, वडा न.१३ कालिमाटी, वडा न.११ त्रिपुरेश्वर, वडा न.९ गौशाला, वडा न.१० बानेश्वर र वडा न.२६ लैनचौर ‘रेड जोन’मा छन् । यी वडामा तीन सयभन्दा माथि संक्रमित छन् ।



मंगलबार मात्रै काठमाडौं उपत्यकामा एक हजार सात सय ४६ जनामा संक्रमण देखिएको छ । २५ असोजसम्मको तथ्यांकअनुसार उपत्यकामा संक्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ । जसमध्ये महानगरभित्र १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय संक्रमित सात हजार ६ सय ९९ छन् भने अस्पतालमा सात सय ६२, संस्थागत आइसोलेसनमा ६ सय ८८ र होम आइसोलेसनमा ६ हजार दुई सय ४९ छन् ।

संक्रमितको सम्पर्कमा आएका १८ हजार ६ सय ८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार आठ सय ६६ जना कोरोना पुष्टि भएको छ । कोरोनाको ‘रेड जोन’मा रहेका महानगरका १० वडामा मात्र आठ हजार तीन सय १० संक्रमित छन् । उनीहरूमध्ये सक्रिय संक्रमितको संख्या चार हजार एक सय ७३ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । यो तीन दिनमा संक्रमितको संख्या अझै बढेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका अन्य स्थानीय तहले कोरोना संक्रमणलाई नियन्त्रणबाहिर जान नदिए पनि महानगरले नियन्त्रणमा लिन नसकेको बताए । ‘कोरोना नियन्त्रणमा काठमाडौं महानगरपालिकाको भूमिका देखिएन, जसले महानगरपालिकाभित्रका केही स्थानमा नियन्त्रणबाहिर गयो,’ प्रवक्ता डा. गौतमले भने । ‘रेड जोन’मा परेका वडालाई ‘सिल’ गरेर परीक्षण तीव्र बनाउनुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

सम्बन्धित समाचार