नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असाेज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दशैंपछि मात्रै हुने देखिएको छ । बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दशैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो । न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले आज हुने भनिएको सुनुवाइ स्थगित स्थगित भएको हो ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले मुद्दाको किनारा नलागेसम्म थप संवैधानिक नियुक्तिमा रोक लगाउँदै यसको सुनुवाई संवैधानिक इजलाशबाट गर्न आदेश दिएका थिए । तर, न्यायाधीशहरूमा कोरोना देखिएपछि उपाध्यक्ष गौतमको मुद्दा संवैधानिक इजलाशमा पूर्ण रूपमा छलफल हुन पाएको छैन ।
प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गरेका थिए।
