मन्त्रिपरिषद् पुनर्गठनप्रति प्रचण्ड असन्तुष्ट, भने-‘ओलीको चालले अर्को चुनाव जित्न गाह्रो छ’

मन्त्रिपरिषद पुनर्गठनप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट भएका छन्। बुधबार भएको मन्त्रिपरिषद् पुनर्गठनप्रति प्रतिक्रिया दिंदै उनले किस्ताकिस्तामा पुर्नगठन गर्दा बाहिर सन्देश राम्रो नजाने भन्दै एकपक्षीय रूपमा पुनर्गठन भएकोमा असन्तुष्टि जनाएका हुन् । प्रचण्डले कम्तिमा १३ जना नयाँ मन्त्री नियुक्त गर्नुपर्ने बताउँदै आएका थिए ।

प्रचण्डले अनौपचारिक रुपमा आफूनिकट नेताहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी ओलीले आफूखुसी पुनर्गठन गरेको भन्दै चित्त दुखाएको एक स्थायी कमिटी सदस्य बताए। ‘सरकारले प्रभावकारी काम गर्न नसक्दा पार्टी आलोचित भएको भएको छ। यस्तै तरिकाले अर्को चुनाव जित्न गाह्रो छ,’ प्रचण्डको भनाई उद्धृत गर्दै ती स्थायी कमिटी सदस्यले भने, ‘यस्तो बेला अत्यन्तै विवादित र आलोचित मन्त्रीका साथै प्रभावकारी काम गर्न नसकेका मन्त्रीलाई पनि हटाएर ठूलो संख्यामा मन्त्री हेरफेर गरौं भन्ने थियो। प्रधानमन्त्रीले एक्लौटी ढंगले पुनर्गठन गर्नु भएछ।’



प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा तीनै जना पूर्वएमाले समूहबाट मन्त्री बनाएका छन्। अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालविकास तथा जेष्ठ नागरिक मन्त्रीमा लिलानाथ श्रेष्ठ मन्त्री भएका छन् ।

सचिवालय बैठकको स्प्रिटअनुसार पुर्नगठन नभएको भन्दै नेकपामा मन्त्रिमण्डल पुर्नगठनको विरोध शुरु भएको छ ।

सम्बन्धित समाचार