नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असाेज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पक्षका तीन नेतालाई मन्त्री बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णय र कार्यदलको सुझावलाई बेवास्ता गरेर मनपरी ढंगबाट अघि बढेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ट नेता माधव नेपाल पक्षले आपत्ति जनाएको छ ।
आज प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले तीन मन्त्री नियक्त गर्न लागेको बताएपनि मन्त्रिपरिषद पुनर्गठन गरेर राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भइसक्दा पनि झलनाथ खनाल, माधवकुमार नेपाललगायत सचिवालयका नेताहरुले यसबारे सुइँकोसम्म पाएका थिएनन् । स्वयं प्रचण्डले पनि थप छलफलपछि निर्णय लिन बताएकोमा ओलीले अटेरी गरेर आफैनिकट तीन मन्त्रीलाई नियुक्त गरेका थिए ।
प्रचण्डले पुर्नगठनपछि ‘ओलीले नेकपालाई डुवाउने भए’ भन्दै प्रतिकार गर्ने चेतावनी दिएका छन् । यता नेपालले पनि ओलीको यो कदमको राम्रै हिसावकिताव हुने बताएका छन् ।
बुधबार दिउँसो पार्टीका शीर्षनेताहरुलाई पत्तै नदिई तीनजना मन्त्री थप्दा प्रधानमन्त्रीले तीनवटै खाली मन्त्रालयमा आफ्नै गुटका नेतालाई राखेका छन् । अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालविकास तथा जेष्ठ नागरिक मन्त्रीमा लिलानाथ श्रेष्ठ मन्त्री भएका छन् ।
