नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असाेज ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशमा भएको पार्टी विद्रोहका विषयमा छलफलका लागि विहीबार काठमाडौं आइपुग्न मुख्यमन्त्रीसहितका पदाधिकारीलाई पत्र पठाएका थिए । सोहीअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेश कमिटीका पदाधिकारी विहीबार बिहानसम्म काठमाडौं आइपुगे ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गर्ने भन्दै आवश्यक तयारीका लागि कार्यालय सचिवलाई निर्देशनसमेत दिइयो। कर्णाली प्रदेशका सह–इन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटीलगायतका नेताहरु हतारहतार विहीबार दिउँसो १ बजे धुम्बाराही पुगे पनि । तर दिनभर कुरे पनि छलफल भएन।
यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले शुक्रबार पनि समय तय भईनसकेको बताए ।
मुख्यमन्त्री शाहीसहित अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले विहीबार बिहान खुमलटारमा भने छलफल गरेका थिए। कर्णालीका विषयमा अध्यक्ष प्रचण्डले रिर्पोटिङ लिएका थिए । त्यस छलफलमा भने प्रदेशका सहइन्चार्ज कँडेल र अध्यक्ष बोगटी सहभागी भएनन् ।
