नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असाेज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन्। आफूले त्यस्तो गैरजिम्मेवार काम गर्न नसक्ने ओलीको भनाइ छ।
आज नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले गलत सूचना दिएर जनता नभड्काउनसमेत आग्रह गरेका छन्। ‘देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं,’ उनले भने, ‘हामी सत्य निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छौं।’ सरकारले भ्रष्टाचारविरूद्ध शून्य सहनशिलता नीति लिएको पनि प्रधानमन्त्रीले बताए।
गोरखामा हालै आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजनामा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर कमिसन खाएको आरोप लगाएका थिए। उक्त प्रमाण आफूसँग भएको पनि भट्टराईले बताएपछि नेकपा र कांग्रेसले विज्ञप्ति निकालेर प्रमाण पेश गर्न चुनौती दिइरहेका छन्।
