नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असाेज ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुढीगण्डकी आयोजनामा भएको भ्रष्टाचारको प्रमाण दिन तयार रहेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री अोलीले बाबुरामले गैह्रजिम्मेवार तरिकाले बोल्दै हिँडेको र गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार रहेको जवाफ दिएका थिए ।
प्रधानमन्त्री अोलीले सरकारले भ्रष्टाचारबिरुद्ध शून्य सहनशिलताको नीति लिएको बताएपछि डा. भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय र निष्पक्ष छानवीन गर्न आग्रह गरेका छन् ।
‘प्रम केपी शर्मा ओलीको भ्रष्टाचारप्रति साच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न कसले रोकेको हो त रु कुराले हैन काम गरेर देखाउनोस् । नत्र ढॉटको कुरा खाई पत्याउनु’, उनले भनेका छन् ।
केही दिन अगाडि डा. भट्टराईले प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले बुढीगण्डकी आयोजनाको ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सो आरोपको नपाली कांग्रेस र नेकपाले विज्ञप्ति नै निकालेर खण्डन गरेका छन् ।
