धोका (कथा)

सीता सौन्दर्यले भरिपूर्ण थिई । कामप्रति उत्तरदायी र इमानदार पनि । सीता आज सामान्यभन्दा पनि धेरै खुशी देखिएकी थिई, किनभने आज उसको सानैदेखिको ब्युटिसियन बन्ने सपना पूरा भएको थियो । छ महिनासम्मको निरन्तरको पार्लरसम्बन्धी तालिमपछि आज उसले एक राम्रो ब्युटिसियनको प्रमाणपत्र पाएकी छे । अब भने उसले एउटा राम्रो ब्युटिपार्लर खोल्ने ईच्छा पूरा गर्नु छ ।

आर्थिक रूपमा मध्यम वर्गीय परिवारकी एक मात्र छोरी भएको हुँदा परिवारका सदस्यहरूको चाहना पनि छोरीलाई राम्रो र व्यवस्थित ब्युटिपार्लर खोलिदिने थियो । भगवानपुर नगरीको मुटुमा रहेको बजारको व्यवस्थित ठाउँमा आधुनिक ब्युटिपार्लरको उद्घाटन पनि सम्पन्न भयोे । आरम्भदेखि नै ब्युटिपार्लरमा भीड हुनथाल्यो । सीता दिनरात आफ्नो काममा व्यस्त हुन थाली । ऊ व्यवसायी बन्दै गई । समय पनि क्रमशः बित्तै गयोे ।



यसैबीच पार्लर आउँदा जाँदा सीताको नजर एउटा गोरो, चौडा छाति भएको, मिठो बोल्ने एउटा युवकमा पर्नथाल्यो । त्यो युवक भर्खर विदेशबाट पैसा कमाएर नेपाल फर्किएको थियो । सीताले त्यो युवक पनि उसको नजिक हुन लालयित हुने गरेको महसुस गरेकी थिई । युवकको हाउभाउ हेर्दा यस्तै लाग्थ्यो उसलाई ।

बीस पूरा गरेर एक्काइस वर्ष लागेकी सीताले आफूभन्दा सात वर्ष जेठो केटालाई आफ्नो अघिपछि घुमिरहेको पत्तो पाएकी थिई । ऊ पनि त्यस युवकप्रति आकर्षित नै थिई र कुनै अदृश्य शक्तिले ऊ पनि त्यस युवकप्रति नजिकिंदै गएको अनुभूति गर्दै थिई । एकदिन हिम्मत गरेर त्यस युवकलाई आफ्नो पार्लरमा बोलाई र उसका अघिपछि घुम्नुको कारण सोधी । उसले आफैंले त्यस युवकप्रति बनाएको धारणाको पनि परीक्षण गर्न चाही ।

केटोले पनि आफ्नो मनोभावना राख्ने अवसर पाएको थियो । उसले पनि दिल खोलेर भन्यो ‘म तिमीलाई माया गर्ने, आफ्नो बनाउन चाहने र जीवन साथीको रूपमा अपनाउन चाहने मान्छे हुँ । मन सफा छ । मैले ढाँटेको पनि हैन । छलेको पनि छैन । न त मैले तिमीसँग कुनै कुरा झुटो नै बोलेको नै छु ।’ युवकले थप्यो ‘म तिमीलाई धेरै मनपराउँछु । यदि तिमी अनुमति दिन्छ्यौ भने चाँडै तिमीलाई माग्न तिम्रो घरमा नै आउँछु ।’

सीताले पनि भित्रभित्रै मनपराएकी थिई । युवकको प्रस्तावले ऊ पनि दङ्ग गरी । तैपनि भनी ‘मलाई बिहे नै गर्न चाहने हो भने मलाई मात्र भनेर हुँदैन, मेरा बाबा, आमा दाजुको पनि मन जित्न सक्नुपर्छ ।’ सीताको जवाफ सुनेर फुरुङ्ग हुँदै युवकले अनुकूल मिलाएर घरमा आउने बचन दिंदै त्यहाँबाट विदा भयो ।

मंसिर महिना, लगनगाँठो कस्ने महिलाहरूको श्रृगार गर्ने घुइँचो पार्लरमा ओइरिन थाल्यो । सीताको व्यस्तता पनि क्रमशः बढ्न थालेको थियो । कामको बोझका कारण सीताले युवकको प्रस्तावका बारेका सबै कुरा बिर्सिसकेकी थिई । यसैबीच सीताको घरमा अचानक बिहेको कुरा चल्यो । ‘हैन मेरो बिहेको कुरा कोसँग चलेको होला !’ सीता यो कुरा जान्न उत्सुक बनी । उसले सामान्य चासो राखेपछि थाहा पाई, त्यो व्यक्ति अरू कोही नभएर त्यही युवक रहेछ । सीता छक्क परी । जे होस् सीताको बिहे त्यही युवकसँग हुने पक्कापक्की भयो ।

र, विवाह पनि धुमधामले सम्पन्न भयो । जोडी अति राम्रो देखियो । तारिफ गर्ने वा त्यो जोडीको डाह नगर्नेको कमी थिएन । बिहेपछि युवकले हनिमुनको लामै योजना बनायो । उनीहरू निक्कै लामो हनिमुन यात्राका लागि निस्के र महिनौं हराए पनि ।

सीता एकमात्र छोरी । आमाबाबुलाई सीतालाई टाढा पठाउन मन लागेन । घरपरिवारको सल्लाह अनुसार छोरीको नाममा एक टुक्रा जमिन पार्लर नजिकै पास गरिदिए र घर बनाउन भनेर बाबाले बीसलाख रुपैँया छोरीको हातमा राखिदिए । मायालु श्रीमान्, त्यसमा पनि बाबुआमाको न्यानो आशीर्वाद पाएर सीता पनि फुरुङ्ग देखिएकी थिई । दिनभरि पार्लरको काममा र रातभरि श्रीमान्को न्यानो काखमा, सीताका दिनहरू रमाइलोसँग बित्नथाले ।

सुखको समय थाहैनपाई बित्छ भन्छन् । सीताको दाम्पत्य जीवनको एक वर्ष पनि थाहैनपाई बित्यो । मस्ती गर्दा गर्दै दोक्चे श्रीमान्ले विदेशबाट कमाएर ल्याएको पैसा पनि थाहैनपाई सकियो ।

दोक्चे श्रीमान्को विदेश जाने चक्कर परिवर्तन भयो । सासुससुराले छोरीलाई घर बनाउन दिएको पैसाले सुमो गाडी किनेर चलाउने श्रीमान्को ईच्छालाई सीताले पनि स्वीकृति प्रदान गरी । अनि एउटा सुमो गाडी किनियो र दोक्चे श्रीमान्ले सुमो चलाउन थाल्यो । श्रीमान् सुमो चलाउने, सीता ब्युटिपार्लर संभाल्ने । उनीहरूको दैनिकी यसरी नै चल्दै थियो । श्रीमान्को अथाहा माया र प्रेमको कारण सीता आमा बन्ने भई । नौं महिनापछि घोर्ले छोरो जन्मियो । आमाबाबु नातिको मुख हेर्न पाउँदा दङ्ग भए भने दोक्चे श्रीमान् पनि बाबु बन्न पाएकोमा मख्ख भयो ।

अब त सीताको घोर्ले छोरो पनि चार पूरा भएर पाँच वर्ष लागिसकेको छ । छोरो स्कुल जाने उमेरको हुनु र खर्च बढ्दै जानुको कारण सीता दिन प्रतिदिन आफ्नो बढ्दो जिम्मेवारीप्रति सचेत हुन थालेकी थिई । घर–खर्चको वृद्घिले गर्दा सीता काममा बढी ध्यान दिन थालीे । कामको व्यस्तताले सीता अन्यत्र कतै ध्यान दिन नसक्ने भई । दोक्चे श्रीमान् हप्ताको एक÷दुई दिन घर आउने जाने गथ्र्यो । घरगृहस्थी ब्यस्ततामा नै बित्न थाल्यो । ब्युटिपार्लर छेउको जमिनमा माइतीको सहयोग र श्रीमान्–श्रीमतीको कमाई मिलाएर दुईतले घर पनि बन्यो । तल्लो तलामा भाडा दिइयो भने माथिल्लो तलामा आफू बस्न थाले । नयाँ घर अनि सानो र सुन्दर परिवार हाँसीखुशी नै थिए ।

एक दिनको कुरा । शनिवार घरायसी काम सकेर सीता छोरा खेलाउँदै छतमा बसिरहेकी थिई । घरको दोस्रो तल्लामा केही अञ्जान मान्छेहरूले गुनगुन गरेको आवाज सुनियोे । सीता छतबाट तल ओर्ली । बैठक कोठाको सोफामा एउटी काली, अधबैंसे, मोटी महिला अनुहार फुलाएर बसेकी थिई । महिलाको छेउमा एउटा अन्दाजी दश वर्षको केटो आमाको अनुहारतिर फर्किएर बसेको थियो । अपरिचित महिलालाई सीताले शान्त मुद्रामा सोधी ‘तपाईं को हो ? मैले त चिन्न सकिनँ नि । कसलाई भेट्न यहाँ आउनुभयो ?’

तर महिला जङ्गिएर सोफाबाट उठ्तै भनी ‘म तेरो पोइलाई खोज्न यहाँ आएकी, बुझिस् ?’
सीताले फेरि पनि कुरा बुझिन । उसले पुनः सोधी ‘दिदी, कस्तो नराम्रो ढङ्गले प्रस्तुत हुनु भयो तपाई । मेरै घरमा आएर यसरी जङ्गिन मिल्छ तपाईलाई ?’
‘के रे ?, म योभन्दा पनि अझ फरक ढङ्गले प्रस्तुत हुन्छु, बुझिस् ?’

त्यस आइमाईको हाउभाउ सीतालाई कुटिहालौँला गरेझैँ देखियो । त्यो महिलाको त्यस प्रकारको व्यवहार देखेर सीतालाई पनि अति रिस उठ्यो । अर्काको घरभित्र विना अनुमति छिरेर त्यस प्रकारको असभ्य व्यवहार देखाउने महिलाप्रति रिस उठ्नु पनि स्वाभाविक नै थियो । ऊ आक्रोसपूर्ण ढङ्गबाट बोली ‘मेरो घरमा आएर मसँगै दुव्यवहार गर्ने तपाई को हो ? मैले तपाईको के बिगारेकी छु र यस्तो व्यवहार देखाउनुहुन्छ ? तपाईलाई अलिकति पनि अप्ठ्यारो लागेन यस्तो बोल्न ? तपाई तुरुन्त बाहिर निक्लिहाल्नोेस् ।’

सीताको कुराले त्यो महिला झन् उग्र बनी । भनी ‘ए हो र महारानी ? म निस्किन्छु कि तँ निस्किन्छेस् यो घरबाट, हेरौंला !’
आफ्नै घरबाट निकाल्ने कुरा सुनेर सीताको मनमा ठूलो पीडाबोध भयो । मुटुको गति बढ्यो । सीता पनि अपशब्द बोल्न बाध्य भई र भनी ‘हैन तँ को होस् मेरो घरबाट निकाल्ने, हँ ?’
त्यो असभ्य महिला पनि रिसले आगो भई । झण्डै चिच्याएको स्वरमा भनी ‘अझ तँ को होस् भनेर सोध्छेस् मलाई ? मेरो सौता बनेर आउने अनि मलाई नै को होस् भन्ने ? तँ मेरो लोग्नेसँग ठूलो भाग खान आएकी हैनस् ?’
महिलाको कुराले सीता नराम्ररी झस्की । उसको मुटु कसैले निमोठेझैं भयो । उसलाई भाउन्न भएर आयो । सीतालाई त्यो महिला रिसाउनुको भेद खुलेझैं भयो । तैपनि सीता प्रष्ठ हुन सकिरहेकी थिइन । केही अल्मलिएजस्तै भई ।

त्यो महिला एकोहोरो बर्बराउँदै गई ‘यो छोरो देखेकी छेस्, यो जन्मिएको एक डेढ वर्षमा यसको बाबु पैसा कमाउन भन्दै विदेशिएको थियो । विदेशमा नै होला भनेको त यहाँ आएर नाटक गरेर बसिरहेको रहेछ । यो मेरो घर हो । यसका बाबुले विदेशबाट कमाएर ल्याएको पैसाले जोडेको । त्यो मोरालाई कहाँ लुकाएकी छेस्, निकाल छिटो । अहिलै नै सबै दुधको दूध, पानीको पानी भइहाल्छ नि ।’

सीताको सुन्दर संसार बालुवाको घरझैं एकैछिनमा भताभुङ्ग भएर लडेझैं भयो । उसलाई आज आएर ठूलो धोका भएको महसुस भयो । उसले कहिल्यै कल्पना नगरेको कुरा हुँदै थियो । सीताले जसलाई देवता मानेक्री थिई, ऊ त दानव बनेर निस्कियो । उसलाई कसैले छातीमा तीखो भालाले रोपेझैं असीम पीडाबोध भयो । उसलाई भाउन्न भएर आयो र आफूलाई नै सँभाल्न सकिन । आँखाअगाडि अँध्यारो छायोे । ऊ विहोस् भएर भुइँमा लडी ।

सधैँ शान्त र सुन्दर लाग्ने घरमा अचानक कोकोहोलो सुनेर छिमेकीहरू छक्क पर्दै के भयो होला भन्दै जम्मा भए । सीता विहोस बनेर लडिरहेकी थिई । सबै स्थिति थाहा पाएपछि कसैले प्रहरीलाई खबर गरिदियो । घरमा भएको रडाकोबाट अनभिज्ञ दोक्चे सुमो गाडी लिएर घरतिरै आउँदै थियो । गाडीबाट ओर्लिनेबित्तिकै प्रहरीले दोक्चेलाई समाते र चौकीतिर लिएर गए ।

सम्बन्धित समाचार