नेकपाको विवाद छताछुल्ल, ओलीले बालुवाटार बोलाउँदा प्रचण्ड भने– म आउँदिनँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बोलचालै बन्द भएको छ । ओलीको सचिवालयबाट आज बालुवाटार बोलाउँदा प्रचण्डले आउँदिन भन्ने जवाफ फर्काएपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको हो ।

कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव र मन्त्रिपरिषद् पुर्नगठनलाई लिएर ओली र प्रचण्डबीच विवाद बढेको हो । ओलीकै इशारामा कर्णाली प्रदशेमा अविश्वासको बखेडा झिकिएको र मनित्रपरिषद् पुर्नगठनमा पनि एकलौटी रुपमा निर्णय गरेको भन्दै ओलीसँग प्रचण्ड रुष्ट बनेका छन् ।



प्रदेश सरकारका देखिएको विवाद समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनदेखि काठमाडौंमा छन् । विहीबार र शुक्रबार दुईदिन कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका उनीहरु शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

कर्णालीका पदाधिकारीसँगको छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पनि शनिबार बालुवाटार बोलाएका थिए । तर, प्रचण्डले प्रधानमन्त्रीलाई ‘तपाई आफैं छलफल गर्नोस्, म बालुवाटार आउदिन’ भन्ने जवाफ फर्काएको स्रोतले बतायो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले काठमाडौं बोलाएका हुन् । प्रदेश कमिटीका पदाधिकारीहरु तीन दिन पहिले नै काठमाडौं आइपुगे पनि प्रधानमन्त्री ओलीले भेट्ने समय नदिएका कारण विहीबार र शुक्रबार प्रचण्डले एक्लै छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले चाहिँ तीन दिनपछि बल्ल शनिबार बिहान मात्रै उनीहरुलाई सामुहिकरुपमा भेट्ने समय दिएका हुन् । कर्णालीका पदाधिकारीसँग दुबै अध्यक्षले बसेर छलफल गरौं भन्दै प्रधानमन्त्री ओलीले शनिबार बहिान प्रचण्डलाई बालुवाटार बोलाएका थिए । तर, प्रचण्डले प्रधानमन्त्रीको निम्तो अस्वीकार गरेपछि नेकपाको विवाद झन् चर्किने देखिएको छ ।

सम्बन्धित समाचार