नवकान्तिपुर संवाददाता
काठमाडौं, १ कात्तिक ।

कर्णाली प्रदेशको विवादबारे प्रधानमन्त्री केपी ओलीले शनिवार दुवै पक्षका कुरा सुनेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा प्रदेशसभा दलको नेताबाट हटाउन पार्टीभित्र अविश्वासको प्रस्ताव तयार भएपछि कर्णाली नेकपामा विवाद सृजना भएको थियो । विवाद चर्किदै गएपछि नेकपा अध्यक्षद्धय ओली र प्रचण्डले कर्णाली नेकपाका पदाधिकारीलाई काठमाडौं बोलाएका थिए ।
सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अविश्वासको प्रस्तावका नेतृत्वकर्ता यामलाल कँडेलका छुट्टाछुट्टै टोलीसँग संयुक्त छलफल गर्दै ओलीले केन्द्र पार्टीको निर्णय मान्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले दुवै पक्षका कुरा सुनेपछि आफूले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेर निर्देशन पठाउने र त्यसलाई मान्नुपर्ने बताएका छन् । संयुक्त छलफलमा प्रचण्डलाई समेत बोलाइएको भए पनि उनी बालुवाटार गएनन् ।
ओलीसँगको छलफलमा सहभागी एक नेताका अनुसार ओलीले दुवै पक्षका कुरा गम्भीरताका साथ सुनेर पछि निर्णय लिने निर्देशन दिएका छन् । कर्णाली प्रदेशमा विवाद बढेपछि केन्द्रित नेतृत्वसँग छलफल गर्न दुवै पक्ष काठमाडौं आएका थिए ।
काठमाडौं आएपछि मुख्यमन्त्री शाही र कँडेल पक्षले खुमलटार गएर अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेट गरेका थिए ।
