नवकान्तिपुर संवाददाता
काठमाडौं, २ कात्तिक ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यातायात विभागले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने बताएका हुन्।
मास्क लगाएजस्तो अब यात्रुहरूले फेस सिल्ड पनि अनिवार्य प्रयोग गर्नुपर्ने उनले बताए। साथै फेस सिल्डको व्यवस्थापन भने यात्रु आफैले गर्नुपर्ने भुषालले जनाए। उनले फेस सिल्ड नलगाउने यात्रुहरूले यात्रा गर्न नपाउने बताए। यसरी फेस सिल्डको प्रयोग गर्दा संक्रमण जोखिम कम हुने विभागको विश्वास छ । यसअघि भने सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको मात्र प्रयोग गर्ने भनिएको थियो। अब भने मास्कसँगै फेस सिल्डको पनि अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ।
विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ। यस्तै नेपालीको महान् पर्व दशैं शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन् । विगतका वर्षमा दशैँको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको छ ।
यस्तै केपी ओली सरकारले अबदेखि कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । कोरोनाको परीक्षण र उपचार खर्च नव्यहोर्ने सरकारले निर्णय गरेसंगै दशैंको मुखैमा जनता निरास बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताएका हुन् ।
उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए । तर कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट लिइने पनि उनले बताए । अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था कात्तिक २ गतेदेखि नै लागू भएको पनि प्रवक्ता गौतमले बताए । उनले २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको स्पष्ट पारे ।
