नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण भएको छ । योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
आज काठमाडौं उपत्यकामा २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा २००८ जना, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना नयाँ संक्रमित भेटिएको हो ।
पछिल्लो २४ घण्टामा थप २३३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ७७८ पुगेको छ । यो अवधिमा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।
हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हालसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण भएको छ।
