असई गोविन्द विकको हत्यामा संलग्न गिरोह पक्राउ

कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विकको शव धनगढी उपमहानगरपालिका १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।

‘विकको घाँटी रेटी हत्या गर्ने कार्यमा संलग्न गिरोहका आधा दर्जनभन्दा बढी व्यक्तिहरु पक्राउ परिसकेको स्रोतले जनाएको छ । ‘केही व्यक्ति अझै पनि फरार रहेकाले खोजी तीव्र बनाईएको छ, सकभर आज साँझ सम्म सबै पक्राउ पर्छन्,’ प्रहरी स्रोतले भन्यो।



पक्राउ परेका अधिकांशले विकको हत्या गरेको स्वीकारेको प्रहरी स्रोत बताउँछ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले पनि अपराधीको नजिक पुगेको बताएका छन्। उनले साँझसम्म परिणाम देखिने बताए । शनिबार राति नियमित गस्तीमा निस्केका प्रहरी सहायक निरीक्षक विकको शव हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो ।

उनको उच्च सम्मानसहित सोमबार कञ्चनपुरको दोदा घाटमा अन्त्येष्टि गरिएको छ। विकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ।

सम्बन्धित समाचार