नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले कोरोना संक्रमित बिरामी आफैंले उपचार खर्च व्यहोर्ने निर्णयप्रति आपत्ति जनाएका छन्। सरकारको उक्त निर्णयले संक्रमित नागरिक थप मारमा परेको उनले बताएका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै उनले यस्तो महामारीको बेला सरकारको निर्णय अनुचित नभएको बताएका छन्।
यस्तो महामारीको बेलामा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने उनको भनाइ छ। ‘त्यसमा पनि गरिबी अभाव र बेरोजगारीले पिल्सिएका बेसहारा तथा आर्थिक रूपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनु पर्नेमा नहुनु गम्भीर विषय हो’, विज्ञप्तिमा उल्लेख छ।
उक्त विभेदकारी गैरजिम्मेवार र नागरिकप्रति अनुत्तरदायी निर्णय तत्काल फिर्ता लिन उनले सरकारलाई आग्रह गरेका छन्।
मुलुक कोभिड(१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् ।
संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो । संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।
माधवकुमार नेपाल
पूर्वप्रधानन्त्री तथा वरिष्ठ नेता
नेकपा
