नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कात्तिक ।

कैलालीमा नेपाल प्रहरीका असई गोविन्द बिक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनगढी–१० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षीय राम गोपाल राना रहेका छन् ।
शनिबार साँझ गस्तीमा निस्किएका धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज बिक र प्रहरी जवान साउँद मृत फेला परेका थिए । उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ ।
वडा नम्बर १० स्थित मोहना नदीबाट अन्दाजी ४ सय मिटर उत्तरमा केराउ तस्करी गरिरहेका तस्करहरूको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिन प्रयास गर्दा तस्करहरुले धारिलो हतियारले प्रहार गरि दुबै जनाको हत्या गरेका थिए ।
हत्या गरिसकेपछि बोक्दै र घिसार्दै ४ सय मिटर दक्षिणमा नेपाल–भारत सीमामा रहेको मोहना नदीमा लगी अपराध लुकाउने उद्देश्यले फाली फरार भएको खुलेको छ ।
शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका असई विक र जवान साउद सम्पर्कमा नआएपछि प्रहरीले खोजी कार्य थालेको थियो । प्रहरीले खोजी गर्दै जाँदा त्यसको भोलिपल्ट आइतबार बिहान असई बिकको शव हत्या गरी फालिएको अवस्थामा मोहना नदीभित्र फेला परेको थियो। जवान साउदको शव मंगलबार मोहना नदीमै फेला परेको थियो।
