नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कात्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल-चीन सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन्। हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको भर्चुअल बैठकको सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीले दुई देशका जनताको आपसी लाभका लागि ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपालले सन् २०१७ मा हस्ताक्षर बताएका छन्।
प्रधानमन्त्री ओलीको उक्त लिखित सन्देश राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार प्रस्तुत गरे। प्रधानमन्त्री ओलीले पछिल्ला वर्ष चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले आपसी सम्बन्धलाई रणनीतिक साझेदारमा रुपान्तरण गर्न योगदान गरेको बताए।
उनले दुई देशबीच परस्पर सम्मान, विश्वास र सहकार्यमा दुई देश र यहाँका पार्टीबीचको सम्बन्धी रहिआएकाले आगामी दिनमा अझ विस्तार हुने विश्वास जनाएका छन्। ओलीले आफू नेतृत्वको सरकार स्थायित्व र विकासका साथै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई व्यवहारमा उतार्न लागिरहेको पनि दाबी गरेका छन्।
