नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कात्तिक ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले आफूमाथिको अविश्वास प्रस्ताव गत कात्तिक ७ गते असफल गराएपछि असन्तुष्ट पक्षलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेको एक नेताले बताए।
मन्त्रिपरिषदमा आफूनिकट र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई समेट्ने शाहीको तयारी छ। मुख्यमन्त्रीले नेपाल पक्षबाट करविर शाही, अमरबहादुर शाही र चन्द्रबहादुर शाहीमध्येबाट मन्त्री बनाउने तयारी गरेका छन् । यस्तै आफूनिकटबाट गोपाल शर्मा,विन्दमान विष्ट र सीताकुमार नेपाली मध्येबाट मन्त्री बनाउने तयारी रहेको उच्च स्रोतले जनाएको छ। मन्त्रिपरिषद पुनर्गठनमा असन्तुष्ट पक्षलाई समेटेर मुख्यमन्त्रीले बहुमत जुटाउने पक्षमा लागेको जनाइएको छ।
कर्णाली विवादका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले छुट्टाछुट्टै पत्र लेखेर निर्देशन दिएका थिए । मुख्यमन्त्री शाहीले आफ्नै तरिकाले अविश्वास प्रस्ताव फेल गराएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा लागेका छन् । तर, कर्णाली विद्रोहका नेता यामलाल कँडेलले अध्यक्ष ओलीको पत्र देखाएर सोहीअनुसार सहमति हुनु पर्ने भन्ने अडान राख्दै आएका छन् ।
