नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कात्तिक ।

सवारी नियम उल्लङ्घन गरेर कारवाहीबाट जोगिन ट्राफिक प्रहरीलाई घुस दिने आठजना पक्राउ परेका छन्। दशैं विदाको अवधिमा सवारी नियम उलंघन गर्नेलाई कारवाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दीपक बहादुर कुमाल, अभिनन्दन काफ्ले, विक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडक बहादुर सुनुवार, अभिक आचार्य र अविन शाही छन्। उनीहरूले ट्राफिक चेकजाँच क्रममा सवारी नियम उल्लङ्घन गरेपछि ट्राफिक प्रहरीलाई ५ सयदेखि ३ हजार रूपैयाँसम्म घुसको रुपमा दिन खोजेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरसस् पालना गरी सवारी नियम उल्लङ्घन गर्नेले दिन खोजेको घुस इन्कार गर्ने ट्राफिक प्रहरीहरूलाई पनि तत्कालै सम्मानित गरिएको पनि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।
यसअघि पनि प्रलोभनमा नपर्ने ७३ जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा महाशाखाले पुरस्कृत गरिएको जनाएको छ । महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा प्रश्न उठेमा ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन आग्रह गरेको छ।
