पर्सा घटनामा मातृका यादवसहित ३७ नेताबाट संयुक्त वक्तव्य जारी, भने- ‘हत्या सुनियोजित देखियो’

पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रसौनीमा नेकपा स्थानीय नेताको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थायी समिति सदस्य मातृका यादवसहित ३७ नेताले विज्ञप्ति जारी गरेका छन् । सो विज्ञप्तिमा विन्दवासिनी गाउँपालिकाका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्याबारे गम्भीर ध्यानाकर्षण भएको र हत्या सुनियोजित भएको उल्लेख गरिएको छ ।

‘घटनाको प्रकृति हेर्दा, पार्टीको गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु निर्विवाद थिए । शपथग्रहण हुन मात्र बाँकी थियो । शपथग्रहण हुनुअघि नै केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरुको योजनामा अपराधीहरू बाँसको भाटालगायतका हतियार बोकी कार्यक्रम स्थल पुगे’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको झण्डा र ब्यानरहरु च्यात्न थाले क मुकेश चौरसियाले रोक्न खोज्नु भयो । अपराधीहरूले उहाँ लगायत निहत्था कमरेडहरूमाथि आक्रमण गरे । केही कमरेडहरू घाइते भए भने चौरसियाको मृत्यु हुन पुग्यो ।’ विज्ञप्तिमा गाउँलेहरुले प्रतिकार गरेपछि अभियुक्तहरू भागेको उल्लेख गर्दै सो घटना सुनियोजित र हत्या गर्ने उद्देश्यसहित भएको उल्लेख गरिएको छ ।



विज्ञप्तिमा पीडितको जाहेर यथाशीघ्र दर्ता गरी हत्यारालाई कारबाही र मृतकलाई सहिद घोषणा गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार