कुस्मा बजारमा एक साता लकडाउन

कोरोना भाइरस संक्रमण बढेपछि पर्वत सदरमुकाम कुस्मा बजारमा एक साताका लागि लकडाउन गरिएको छ। सदरमुकाममै होटल व्यवसाय गर्दै आएका एक व्यवसायीको कोरोना पोजेटिभ रहेको अवस्थामा उपचारको क्रममा मृत्यु भएपछि शुक्रबार राति १२ बजेदेखि लकडाउनको घोषणा गरिएको हो।

बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकबाट कुस्मा नगरपालिको वडा नम्बर ४, ५, ६ र ७ मा लकडाउनको घोषणा गरिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।



‘कुस्मामा संक्रमण फैलिँदै गएपछि चिकित्सक र सरोकारवाला निकायका व्यक्तिसँग बसेको सिसिएमसीको बैठकले कात्तिक १४ राति १२ बजेदेखि कात्तिक २१ राति १२ बजेसम्म कुस्माका चारवटाटा वडामा लकडाउनको निर्णय गरिएको हो,’ प्रजिअ रेग्मीले भने, ‘वडाबाट सिफारिस भएर आएका काम गर्दा भिडभाड हुने भयो, वित्तीय संस्थामा पनि भीड नै छ। पसलहरूमा पनि जोखिम हुन सक्छ भनेर लकडाउन गर्ने निर्णय गरिएको हो।’

बैठकमा सहभागी चिकित्सकहरूले लकडाउन गरिएमा संक्रमण फैलिए पनि त्यसको फैलने दर कम हुने बताएको र कुस्मा बजारमा संक्रमणको फैलने दर बढ्ने अवस्थामा रहेको अन्य सहभागीले पनि बताएकोले लकडाउनको नै निर्णय गरिएको प्रजिअ रेग्मीले बताए। उनका अनुसार लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्था, तोकिएको वडाका वडा कार्यालयहरू, लगायत बन्द हुने छन् भने अत्यावश्यक सेवाका रूपमा लिइएका दैनिक उपभोग्य बस्तु बेच्ने किराना पसल, औषधि पसल, डेरी पसल, तरकारी पसल लगायत बन्द रहने छन्।

सम्बन्धित समाचार