नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कात्तिक ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान हुने छाटकाँट देखिएको छैन । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ताको वातावरण बन्न नसक्दा दुबै पक्ष आ–आफ्नो तयारीमा जुटेका छन् । ओलीलाई पटक पटक सुध्रन अवसर दिँदा पनि पार्टी र सरकारलाई विधिसम्मत सञ्चालन नगरेको भन्दै प्रचण्ड र नेपाल समूह निर्णायक संघर्ष गर्ने तयारीमा छन् । उनीहरू सरकारलाई नियन्त्रण गर्ने एक संयन्त्र बनाएर अगाडि बढ्ने तयारीमा छन् । प्रधानमन्त्री ओली त्यसको लागि तयार नभएमा अविश्वासको प्रस्ताव अगाडि बढाउनेसम्मको रणनीति प्रचण्ड नेपाल समूहले बनाएको स्रोतको दाबी छ ।
यता प्रधानमन्त्री ओलीले आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको बुझेपछि नेता नेपाललाई फकाउने प्रयास गरेका थिए । विभिन्न आश्वासन दिँदा पनि नेपाल आफ्नो पक्षामा नआएपछि ओलीले दुई दूतमार्फत हिजो प्रचण्डलाई फकाउने प्रयास गरेका थिए । विहीबार नेता शंकर पोखरेल र सुवास नेम्वाङले भिन्दाभिन्दै खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए । उनीहरूसँगको भेटमा पनि प्रचण्डले ओलीसँग एक्लाएक्लै वार्तामा बस्नुको कुनै अर्थ नरहेको भन्दै पार्टी कमिटीबाटै समस्याको समाधान खोज्नुपर्ने बताएका थिए ।
प्रचण्डले पोखरेल र नेम्बाङसँग ओलीको मनपरिले नेकपा ध्वस्त हुन लागेको भन्दै पार्टी कमिटीमा गम्भीर समीक्षा गर्ने बेला आएको बताएका थिए । ‘तपाईहरू वार्तामा बस्न दवाव दिनुहुन्छ तर ओलीजी दैनिक वार्ता भैरहेकै बेलामा मलाई नै सुइँको नदिई महत्वपूर्ण नियुक्तिहरू गर्नुहुन्छ । मन्त्रीमण्डल पुर्नगठन गर्नुहुन्छ । पार्टी कमिटीको निर्देशन एकखालको हुन्छ वहाँको काम गराई अर्को खालको हुन्छ । त्यसैले म वहाँसँग वार्तामा बस्दिन, २-४ दिनमा सचिवालय बोलाउँछु । त्यहाँ नै छलफल गरौंला’ प्रचण्डले पोखरेल र नेम्वाङलाई यस्तो जवाफ फर्काएका थिए । प्रचण्डले सचिवालयमार्फत ओलीलाई अल्पमतममा पारेर पार्टी संसदीय दलको निर्वाचनको दवाव दिने तयारी गरेको बालुवाटारको आशंका रहेको छ । संसदीय दलको नेताबाट ओलीलाई हटाउन सकेमा स्वतः प्रधानमन्त्रीबाट पनि ओली हट्न बाध्य हुने भएकोले प्रचण्ड नेपाल समूहले त्यसको अभ्यास गर्ने देखिएको छ ।
ओली संसदीय निर्वाचनको लागि तयार नभएमा कांग्रेस र जसपाको सहकार्यमा ओलीविरूद्ध संसदमै अविस्वासको प्रस्ताव ल्याउने हदसम्मको रणनीति ओलीइतरका शक्तिहरूको रहेको सेतले बतायो । संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रधानमन्त्रीको विकल्प पनि पेश गर्नुपर्ने र बहुमत जुटाउन पनि कांग्रेस र जसपाको साथ चाहिने भएकोले सकेसम्म संसदीय दलमार्फत नै हल खोज्ने प्रचण्ढ नेपाल समूहको तयारी रहेको छ । साथै अविश्वासको प्रस्ताव असफल भएमा अर्को एक वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाइने कानुनी बाध्यताले पनि तत्काल अविश्वासको प्रस्ताव पेश गरिहाल्न प्रचण्ड हच्किएको बताइन्छ ।
अविश्वासको प्रस्ताव पेश गरेपछि ओलीले पार्टी फुटाएर कांग्रेसलाई हात लिएर आफैं प्रधानमन्त्रीमा दोहोरिएमा आफूहरू पङ्गु बन्ने डरले प्रचण्ड पहिला कांग्रेस र जसपाको नाडी छाम्न चाहेका छन् । पार्टी कमिटीको निर्णयलाई ओलीले कुन रूपमा लिनेछन् त्यो हेरेर त्यसपछि मात्र अविश्वासको प्रस्तावबारे कांगैससँग निर्णयक छलफल गर्न प्रचण्डलाई नेपाल समूहले सुझाव दिएको बताइन्छ ।
मन्त्रिमण्डल पुर्नगठन, कर्णली विवाद र पर्सा विवादसम्म आइपुग्दा नेकपाको विवाद उत्कर्षमा पुगेको छ । दुबै पक्षको तयारी हेर्दा छिट्टै नै नेकपाको विवादले पार्टी फुट र सरकार परिवर्तनसम्मको परिदृश्य देखाउन सक्ने अनुमान गर्न सकिन्छ ।
