नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कात्तिक ।

दैलेखको महाबु गाउँपालिका ५ काशीकाँधबाट नारायण नगरपालिका ८ किमुगाउँमा बसाइँ सरेर आएका १६ वर्षे गोविन्द विक किमुगाउँमा रहेको वसन्त माविमा कक्षा नौ मा पढ्दै आएका थिए । कोरोनाको कारण विद्यालय बन्द भएकोले दाजुहरुसँग मजदुरी गर्थे । जिल्ला सदरमुकाम दैलेख बजारको एक घर निर्माणमा जुटेका गोविन्द र उनका दाजुहरुले दशैंको महाअष्टमीको दिउँसै काम रोके र मजदूरीको पैसा पनि पाए ।
गोविन्दका दाजु बखतले रकम बुझेको दिन काम विशेषले घर नगइ खरीगैरा पुग्नु परेको कारण मासुको पैसा तिर्न गोविन्दको हातमा तीन हजार रुपैयाँ दिएका थिए । तर गोविन्दले त्यो सबै पैसा साँझ दौतरीसँग तासको ‘काट’ भन्ने खेल खेल्दा हारेछन् ।
तासमा तीन हजार हारेका गोविन्द राति ११ बजेतिर घर पुगे, आमाले राखिदिएको खाना खाएर आफू सुत्ने कोठामा एक्लै सुते । भोलिपल्ट कात्तिक ९ गते बिहान झिममिसेमै घरबाट भागेर सुर्खेत पुगे तर अहिले उनी त्यहाँबाट पनि बेपत्ता भएका छन् ।
९ गते राति कहाँ बसे ? के खाए रु भन्ने थाहा नभए पनि १० गते दशैँको दिन पहिले चिनेको सुर्खेत बजारको एक सुनचाँदी पसल र एउटा होटलमा काम छ कि ? भनी सोधेको खुलेको छ । दशैँको दिन सुर्खेतमा देखिए पनि त्यसपछि उनी कहाँ कता गए भन्ने खुल्न नसकेको परिवारजनले बताएका छन् ।
१० गते सुर्खेतमा थिए भन्ने थाहा पाएर ११ गतेदेखि लगातार चार दिनसम्म पनि खोजी गर्दा कतै पत्ता नलागेको गोविन्दका दाजु बखतबहादुर विकले बताए । दौतरीको लहलहैमा लागेर जुवामा हारेपछि उनले सबै कुरा नखुलाए पनि ‘नजानेर गल्ती भयो माफ गर्नुहोला । म सधैँको लागि गएको होइन, फर्किन्छु’ भनेर आमालाई सम्बोधन गरेर लेखेको चिठ्ठी ९ गते दिउँसो मात्र फेला परेको थियो ।
चिठ्ठीको भाषाबाट जुवामा हारेको रकम कमाएर फर्किने मन देखिन्छ तर कहाँ गए भन्ने खुल्न नसकेको कारण ६२ वर्षीया आमा रातदिन रोइरहेकी छिन् । उनको घरमा दाजु, भाउजू, एउटा बहिनी र आमा गरी पाँच जनाको परिवार छ । गोविन्द चार वर्षको छँदा बुबाको निधन भइसकेको थियो ।
