नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कात्तिक ।
भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८ सय ९१ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरूले बताएका छन् ।
दिल्ली प्रदेशमा कोरोनाबाट अहिलेसम्म तीन लाख ८१ हजार ६ सय ४४ जना सङ्क्रमित भएका छन् । पछिल्लो समयमा दिल्लीमा कोरोनाबाट सङ्क्रमित भएकाको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
दिल्लीमा यसअघि गत विहीबार ५ हजार ७ सय ३९ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने बुधबार ५ हजार ६ सय ७३ जना भेटिएका थिए । सरकारी अधिकारीले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार दिल्लीबाट ४ हजार ४ सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
दिल्लीमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको संख्या ३ लाख ४२ हजार ८ सय ११ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । अहिले ३२ हजार ३६३ जना अझै पनि सङ्क्रमित अवस्थामै छन् । त्यस्तै, कोरोनाबाट दिल्लीमा अहिलेसम्म ६ हजार ४ सय ७० जनाको मृत्यु भएको छ ।