नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कात्तिक ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक असमझदारी चुलिएका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड शनिबार बालुवाटार पुगेका छन् । केही दिन यता प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीले प्रचण्डलाई लगातार बालुवाटार बोलाएपनि प्रचण्ड गएका थिएनन् ।
प्रधानमन्त्री ओलीले छलफल गर्ने, सहमति पनि गर्ने तर कार्यान्वयन भने नगर्ने गरेपछि प्रचण्डले उनीसँग वार्ताको कुनै अर्थ नरहेको भन्दै बालुवाटार जान मानिरहेका थिएनन् । पार्टी सचिवालयले गरेका निर्णय नमानेको, एकलौटी रुपमा मन्त्रिपरिषद विस्तार र राजदूत नियुक्ति गरेको, कर्णाली प्रदेशका पूर्व माओवादी पक्षीय मुख्यमन्त्री हटाउन खोजेको लगायतका विषयमा प्रचण्डले प्रधानमन्त्री ओलीसँग असहमति राखिरहेका थिए ।
सहमति कार्यान्वयन गराउन र देखिएका असमझदारीलाई सचिवालयको बैठक बोलाएर समाधान गराउनका लागि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको खुमल्टार श्रोतले बतायो । आजको दुई अध्यक्षबीचको छलफलमा सचिवालय बैठक बोलाएर समस्या समाधान गर्ने विषयमा मात्रै छलफल हुने, विवादित विषयमा प्रवेश नगर्ने बताइएको छ ।
त्यसो त प्रचण्ड माधव नेपाल समूहले कांग्रेससँग मिलेर प्रधानन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको ओली पक्षले आरोप लगाउँदै आएको छ । आजको भेटमा यो चर्चाबारे पनि अध्यक्षद्धयबीच छलफल हुने बताइएको छ ।
