नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ कात्तिक ।
बेलायतमा कोरोना भाइरसका नयाँ संक्रमितहरूको संख्यामा दिनहुँ वृद्धि हुन थालेपछि त्यहाँ देशव्यापी दोस्रो चरणको लकडाउन लागू गर्ने घोषणा प्रधानमन्त्री बरिश जोनशनले गरेका छन् । एक महिना लामो नयाँ लकडाउन आगामी विहीवारदेखि शुरू भएर डिसेम्बर २ सम्म लागू हुनेछ।
कोरोना संक्रमणका कारण देशको राष्ट्रिय स्वास्थ्य निकाय (एनएचएस)माथि दबाब नपरोस् भन्नका लागि पुन: लकडाउन गर्नुपरेको प्रधानमन्त्री जोनशनले बताएका छन्। उनका अनुसार चार हप्ताका लागि देशभरका रेष्टुरेन्टहरू, जिमखानाहरू र अत्यावश्यकबाहेका पसलहरू लकडाउन अवधिभर बन्द रहनेछन्। तर यसअघि लागू गरिएको लकडाउनमा जस्तो विद्यालय, क्याम्पस र विश्वविद्यालयहरू बन्द हुनेछैनन् ।
डिसेम्बर २ पछि भने प्रतिबन्धहरू फुकुवा गरिने र स्थान हेरी चरणबद्ध रुपमा प्रतिबन्धहरू लागू गरिने प्रधानमन्त्री जोनशनले जनाएका छन् । बेलायतमा कोरोनाका कारण हालसम्म ४६ हजार ६६५ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १० लाख नाघिसकेको छ।