राष्ट्रिय सङ्गीतकर्मी संघ कास्कीको साधारणसभा सम्पन्न

राष्ट्रिय सङ्गीतकर्मी संघ नेपाल जिल्ला शाखा कास्कीको वार्षिक साधारण सभा शनिबार सुपा देउराली रेष्टुरेन्ट, न्युरोड पोखरामा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । राष्ट्रिय सङ्गीतकर्मी संघ केन्द्रीय कमिटीका सदस्य सन्तोष अधिकारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता भने जिल्ला अध्यक्ष ऋषिराम दाहालले गरेका थिए ।

कार्यक्रम संस्थाले वर्षभरि गरेका आर्थिक एवम् साँगठनिक गतिविधिहरूको जानकारी दिँदै छोटो औपचारिक कार्यक्रमपश्चात बैठकमा रूपान्तरण गरिएको थियो । बैठकमा आउँदो शनिबार चिप्लेढुङ्गा मानव अधिकार चोकमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख ऋषिराम बाँस्तोलाले जानकारी दिए ।



बाँस्तोलाले बैठकमा लगातार तीन वटाभन्दा बढी बैठकमा उपस्थित नहुने कार्यसमितिका पदाधिकारीहरूलाई कार्वाही स्वरूप पदमुक्त गराई उक्त स्थानमा नयाँ सदस्यहरूलाई जिम्मेवारी दिई नियमित कार्य सञ्चालन गर्ने निर्ण भएको तथा थप तीनवटा छुट्टाछुट्टै विभागहरूसमेत गठन गरिएको जानकारी गराए । नयाँ गठित विभागहरूमा संगठन विभागमा ईश्वरराज भण्डारी, सांस्कृतिक एवं अतिरिक्त क्रियाकलाप विभागमा प्रकाश सापकोटा र प्रचार प्रसार विभागमा ऋषिराम बाँस्तोला (बाबुराम) लाई प्रमुखको जिम्मेवारी तोकिएको पनि जानकारी गराइयो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै अधिकारीले कलाकारहरूको हक हितका लागि अगाडि बढ्न कास्की शाखा तत्पर रहिरहेको र भावी दिनमा पनि अझ बढी सक्रिय हुने विश्वास व्यक्त गरे । सागर कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा राष्ट्रिय सङ्गीतकर्मी संघ गण्डकी प्रदेश कमिटीका महासचिव कृष्णप्रसाद गौतम, जिल्ला शाखा कास्कीका सल्लाहकार कृष्ण रानाभाटलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

सम्बन्धित समाचार