ओलीले अलग पार्टी बनाउने प्रस्ताव गरेपछि प्रचण्ड-नेपाल समूह थप रणनीति तय गर्दै

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको जारी विवादले पार्टीलाई फुटको दिशामा अगाडि बढाउने देखिएको छ । शनिबार मात्र प्रधानमन्त्री केपी ओलीलाई भेटेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले अलग पार्टी बनाउने प्रस्ताव गरेको खुलाशा गरेका छन् । आज आफ्नै निवास खुमलटारमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापासहितको बैठकमा प्रचण्डले ओली अलग पार्टि बनाएर अगाडि बढ्ने तयारीमा लागेको बताए ।

प्रचण्डले आफूले सचिवालय बैठक बोलाउन आग्रह गर्दा ओलीले तत्काल पार्टीको कुनै बैठक सम्भव नभएको र एकपक्षीय रूपमा हुने निर्णय आफूले नमान्ने, बरु पार्टी अलग गर्ने प्रस्ताव गरेको बताएका थिए । साथै प्रचण्डले ओलीले पार्टी फुटाउन सहज हुनेगरी आज भोलि नै एक अध्यादेश ल्याउने चयारी गरेको पनि बताए ।



खुमलटार छलफलमा सहभागी नेताहरूले पार्टी एकता बचाउनुपर्ने भन्दै ओलीसँग थप संवाद गर्न प्रचण्डलाई भनेका छन् । पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयास गर्ने र ओली एकतर्फी अगाडि बढेमा त्यसको सामना गर्ने ओलीइत्तरका शक्तिहरुको योजना रहेको छ ।

पछिल्लो समय नेकपामा मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, नेकपा कर्णालीको विवाद र ‘रअ’ प्रमुखको नेपाल भ्रमणलगायतका विषयमा ओली र प्रचण्डबीच विवाद छ । यस विषयमा नेपाल खनाललगायत सचिवालयका बहुमत सदस्यले प्रचण्डलाई साथ दिंदै आएका छन् । पार्टीका सबै कमिटीमा अल्पमतमा परेका ओलीले बैठकलाई टार्दै आएका छन् ।

सम्बन्धित समाचार