नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ कात्तिक ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको छ । सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन नसकेपछि मंगलबार पुनः बस्ने भएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय र गतिविधिबाट महाविधेशन निष्पक्ष हुनेमा आशंका उठाउँदै गत असोज ११ गते पार्टी केन्द्रीय कार्यालयमा १६ बुँदे ज्ञापन पत्र दर्ता गराएका थिए । पौडेल समूहले बुझाएको ज्ञापनपत्रका विषयमा समेत छलफल भएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
उनले पार्टीभित्र देखिएको मत भिन्नता र महाधिवेशन हुने/नहुने विषयमा देखिएको अन्यौलताका विषयमा पनि छलफल भएको बताए ।
यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।
कोरोना संकटको बेला सरकार संवेदनशील नभएको उल्लेख गर्दै उनले जनताको सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा भोलि बस्ने पदाधिकारी बैठकले स्पष्ट पार्ने र केन्द्रीय समिति बैठकमा निर्णय गरेर अगाडि बढ्ने बताए ।
