नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कात्तिक ।

नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउसो १ बजे बस्नेछ। हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले दर्ता गराएको विरोधपत्रमा केन्द्रित भएर छलफल भएको थियो।
बैठकमा दुबैपक्षका नेताहरुले यस बिषयमा आफ्ना धारणा राखेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस भनी सभापति शेरबहादुर देउवालाई बुझाएको पत्रमा केन्द्रित भएको छ।
पौडेल समूहले गत असोज १२ गते सभापति देउवाले गरेका पछिल्ला निर्णयहरु नसच्याइए संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसहित पार्टी कार्यालयमा विरोध पत्र दर्ता गराएको थियो।
साथै हिजोको बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा पनि छलफल भएको थियो । सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन नसकेपछि बैठक आज पुनः बस्न लागेको हो ।
