फुटको संघारमा नेकपा, संसदीय दलमा बहुमत जुटाउन नेताहरू तानातान

सत्तारूढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को जारी विवादको समाधान निस्कने कुनै छाटकाँट देखिएको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र इतर पक्ष आ–आफ्नो अडानमा रहेकोले जुनसुकै बेलामा पार्टी फुट्ने अड्कल काटिएको छ । सोमबार दोस्रो तहका नेताहरू पार्टीलाई फुटबाट जोगाउन जति दौडधुप गरे पनि परिणाम शून्य रहेको र दुबै समूह संसदीय दलमा बहुमत जुटाएर संस्थापन बन्ने दौडधुपमा रहेकोले नेकपाको अस्तित्व धरापमा रहेको विश्लेषण हुन थालेको छ ।

पार्टी विधानअनुसार पार्टीमा विवाद सिर्जना भएर फुट्ने अवस्था आएमा संसदीय दल र केन्द्रीय समितिमा बहुमत समर्थन प्राप्त समूह नै संस्थापन ठहरिने उल्लेख छ । संस्थापन समूहले नै पार्टीको नाम, निर्वाचन चिन्ह र झण्डाको प्रयोग गर्न पाउने छ । त्यसैगरी पार्टी फुटाउन चाहने समूहले पनि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत समर्थन जुटाउनुपर्ने हुन्छ । यसरी हेर्दा अहिले दुई समुहमा देखिएकामध्ये कमजोर देखिएका प्रधानमन्त्री ओली समूहमा संसदीय दलमा ४० प्रतिशत बढी संसद रहे पनि केन्द्रीय समितिमा भने ओलीको समर्थनमा ४० प्रतिशत नेताहरू नरहेको बताइन्छ ।



त्यसैले पनि ओलीले पार्टी फुटाउन संसदीय दलमा मात्र ४० प्रतिशत भए पुग्ने बनाउने गरी यसअघि एकपटक अध्यादेश ल्याएका थिए । चौतर्फी विरोधपछि सो अध्यादेश फिर्ता भएको थियो । फेरि पनि ओलीले पार्टी फुटाउनै चाहेमा त्यसै गरी अध्यादेश ल्याएर संसदीय दलमा बहुमत जुटाएर संस्थापन पक्ष बन्ने प्रयास गर्ने देखिएको छ । चुनाव चिन्ह सूर्यलाई निकै लोकप्रिय मानिन्छ । सो चिन्ह प्राप्त गर्न पनि ओलीले संसदीय दलमा बहुमत समर्थन जुटाउन केही नेताहरूलाई प्रभावमा पर्ने प्रयास शुरू गरेको बताइन्छ ।

यस्तो छ संसदीय दलको हिसाबकिताब

संसदीय दलमा नेकपाका कुल १७४ संसदमध्ये हाल १७२ संसद रहेका छन् । जसअनुसार ८७ संसदले जुन समूहलाई समर्थन गर्ने छन् उतै बहुमत पुग्ने अवस्था छ, जसमध्ये प्रधानमन्त्री केपी ओली निकट ७८ सदस्य रहेको बताइन्छ । यता प्रचण्ड र माधव नेपाल समूहमा भने ९५ सदस्य रहेका छन् । जसमध्ये प्रचण्ड निकट ५३ जना रहेका छन् भने नेपाल निकट ४२ जना रहेका छन् । प्रचण्ड नेपाल समूहले ९५ जनालाई बचाइ राख्न सकेमा उनीहरूको पक्षमा स्वतः बहुमत रहेनछ । तर ८-९ जना मात्र तलमाथि भएमा उनीहरू पक्षको बहुमत गुम्ने छ भने ओलीको पक्ष बहुमतमा रहने सम्भावना रहन्छ ।

ओलीले खासगरी प्रचण्डसँग असन्तुष्ट नेताहरूलाई फकाउने प्रयास गरेको बताइन्छ । उनले गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टलाई आफ्नै पक्षमा पारिसकेको र तोपबहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभू शाहलगायतका नेतालाई प्रभावमा पारेको स्रोतको दाबी छ । यसरी प्रचण्ड नेपाल समूहका केहीलाई आफ्नो पक्षमा तान्न सफल भएमा प्रधानमन्त्री ओली पार्टीका सबै कमिटीमा अल्पमतमा रहँदारहँदै पनि संस्थापन पक्ष बन्ने देखिन्छ । चुनाव चिन्ह सूर्यकै लोभले ओलीले संसदीय दलमा बहुमत जुटाउन मेहनत गरिरहेको बताइन्छ ।

 

 

सम्बन्धित समाचार