नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कात्तिक ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको लागि प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग फोन वार्ता गरेका छन् । गत शनिबारको भेटमा पार्टी अलग अलग गरेर अगाडि बढ्न प्रस्ताव गरेका ओलीले पार्टीभित्रका दोस्रो तहका नेताहरूको चर्को विरोधपछि आज लचिलो हुने संकेतसहित प्रचण्डलाई आत्माओलोचना गरेर अगाडि बढ्न तयार रहेको सन्देश दिएको एक नेकपाका स्थायी किमिटी सदस्यले बताए ।
फोन वार्तामा ओलीले ‘दुई अध्यक्षबीच समझदारी भएपछि मात्र सचिवालय बैठक बोलाउने शर्त राखेका छन् । दुई अध्यक्षबीच नै कुरा नमिलेको अवस्थामा सचिवालय बोलाउनुको कुनै अर्थ नरहेको भन्दै उनले वार्ताको लागि बालुवाटार आउन प्रचण्डलाई आग्रह गरेका थिए । निर्वाचनमा गरेका वाचाहरू पूरा गर्नको लागि पनि अहिलेको अवस्थामा पार्टी फुटाउनु हुँदैन । जनभावना र नेता कार्यकर्ताको मतको पनि सम्मान गर्नुपर्छ । आउनुस् वार्तामार्फत विवादको समाधन खोजौं’ फोनवार्तामा ओलीले भनेका थिए ।
तर प्रचण्डले भने सचिवालय बैठकमैं जोड दिएका थिए । विवाद दुई अध्यक्षबीच मात्र नभई पार्टीभित्र नै विवाद भएकोले सचिवालय बैठक बोलाउनुस्, उतै भेटौंला भन्ने जवाफ फर्काएको बताइन्छ । साथै प्रचण्डले तयारी भने पार्टी फुटाउने गरेको र देखावटी रूपमा मिलाउन खोजेजस्तो पार्न लागेको आरोप ओलीलाई फोनमार्फत नै लगाएका थिए । ‘पार्टी फुटाउनुको अपजस आफूमा नआओस् भन्ने पार्न खोज्नुभएको होला तर कार्यकर्ताले राम्रैसँग बुझेका छन् पार्टी एकता कोबाट भंग हुँदैछ भनेर’ प्रचण्डले भने । साथै प्रचण्डले फोन वार्तामै आफूनिकटका नेताहरूलाई विभिन्न आश्वासन देखाउँदै प्रलोभनमा पार्ने काम भएकोमा पनि आपत्ति जनाएको बताइन्छ ।
संसदीय दलमा बहुमत जुटाउने कसरतमा ओली
जारी विवादपछि प्रधानमन्त्री ओलीले आफूइतरका समूहलाई फकाउने र गलाउने रणनीति लिएका छन् । भित्रभित्र प्रचण्ड माधव नेपालका समूहलाई विभिन्न प्रलोभन देखाएर आफूतिर तान्ने संसदीय दलमा बहुमत जुटाउने तर बाहिर भने पार्टी फुट्दैन भन्दै वार्ताको लागि तयार रहेको ओलीले बताउने गरेका छन् ।
आजै बिहान मात्र ओलीनिकट नेकपा महासचिव विष्णु पौडेलले सचिवालय सदस्य भीम रावलसँग झण्डै २ घण्टा वार्ता गरेर जारी आन्तरिक शक्ति संघर्षमा ओलीलाई साथ दिन आग्रह गर्दै विभिन्न प्रलोभन देखाएको बताइन्छ । त्यसैगरी प्रचण्डसँग दुरी रहेका रामबहादुर थापा, लेखराज भट्ट, हरिबोल गजुरेल, प्रभू शाह, तोपबहादुर रायमाझीलगायतलाई प्रभावमा पार्ने काम ओली समूहबाट भैरहेको बताइन्छ । संसदीय दलमा बहुमत समर्थन जुटाउन सफल भएमा पुनः एकतर्फी रूपमा मन्त्रिमण्डल विस्तार गरेर प्रचण्ड नेपाल समूहलाई थप रूष्ट बनाएर पार्टीबाटै खेद्ने रणनीतिमा ओली समूह रहेको बताइन्छ ।
