नेकपा फुट्ने संकेत पाएपछि वामदेवलाई निवासमै बोलाएर राष्ट्रपतिले गरिन् यस्तो आग्रह

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो विवादले समाधानको रूप लिन सकिरहेको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सल्लाहमै पार्टी अलग गरेर अगाडि बढ्न प्रस्ताव गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले फुटको सामना गर्ने रणनीति लिएपछि दुबै समूहले आ–आफ्नो पक्षमा नेताहरूलाई प्रभावित पार्ने काम गरिरहेका छन् ।

यता प्रधानमन्त्री ओलीले पनि आफूलाई संसदीय दलमा बहुमत जुटाउन इत्तरसमूहमा रहेकालाई प्रभावित पार्न विभिन्न दूतहरूको प्रयोग गरिरहेका छन् । आज बिहानमात्र महासचिव विष्णु पौडेलमार्फत् उनले नेता भीम रावललाई आफ्नो पक्षमा उभिन आग्रह गरेका थिए ।



यता आजै साँझ उपाध्यक्ष वामदेव गौतमलाई आफ्नै निवासमा बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गरेकी छन् । साँझ शीतल निवास पुगेका गौतमलाई राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेको बुझिएको छ । पछिल्लो पार्टी विवादमा प्रचण्ड समूहमा देखिएका गौतम शीतल निवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघिको विवादमा पनि ओली अल्पमतमा पर्दा नेता गौतमले नै ६ बुँदे सहमतिको प्रस्ताव सार्वजनिक गर्दै ओलीको पक्षमा उभिएर पार्टीलाई फुटबाट बचाएका थिए । तर ओलीलाई जति साथ दिए पनि आफूलाई परेको बेलामा सहयोग नगरेको भन्दै गौतम पछिल्लो समय ओलीसँग रूष्ट भएका छन् । पछिल्लो समय राष्ट्रियसभामा गएर मन्त्री बन्न चाहेका गौतमले आफूलाई मन्त्री बन्न नदिन ओली नै लागेको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपतिसँगको भेटमा पनि गौतमले ओलीकै कारण पार्टीभित्र पटक पटक समस्या आउने गरेको बताएका थिए । यसअघि पनि आफूले नै पार्टी र ओलीलाई बचाएको भन्दै पटक पटक गल्ती गर्ने र आफ्ना सहयोगीलाई नै आप्ठ्यारोमा पर्ने ओलीको प्रवृत्तिले गर्दा सधैं काँध थाप्ने अवस्था नरहेको बताएका थिए । राष्ट्रपतिका आग्रहपछि पनि गौतम ओलीको समर्थनमा उभिन नमानेकोले नेकपाभित्रको पछिल्लो शक्ति संघर्षले रोचक मोड लिने देखिएको छ ।

सम्बन्धित समाचार