नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कात्तिक ।
संयुक्त राज्य अमेरिकाको नयँ राष्ट्रपतिमा जो बाइडेनको जित सुनिश्चित भएको छ । ब्याटलग्राउण्ड मानिएको राज्य मिसिगनमा बाइडेनले जित हासिल गरेसँगै अमेरिकाको ४६औं राष्ट्रपतिमा बाइडेनको नाम अब निश्चित प्रायः छ । १६ इलेक्टोरल मत रहेको सो राज्यमा केहीवेर अगाडि सम्पन्न मतगणनाको अन्तिम नतीजा बाइडेनको पक्षमा आएको छ । योसँगै उनले कूल २६४ इलेक्टोरल मत प्राप्त गर्दा विपक्ष उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल मत हासिल गरेका छन् ।
अमेरिकामा राष्ट्रपति चयनका लागि मंगलवार आमनिर्वाचन सम्पन्न भएको थियो । चुनावी मैदानमा उत्रेका दुई उम्मेदवार वर्तमान राष्ट्रपति ट्रम्प र पूर्व उपराष्ट्रपति बाइडेन बीच भएको निकै कडा प्रतिस्पर्धामा बाइनेडले बाजी मार्ने पक्कापक्की भएको छ । अमेरिकामा इलेक्टरल कलेज प्रणाली (निर्वाचन मण्डल) को माध्यमबाट नयॉ राष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।
कूल ५३८ मत रहेको इलेक्टरल कलेजबाट चुनाव जित्नका लागि उम्मेदवारलाई कम्तीमा पनि २७० मतको आवश्यकता पर्दछ । राष्ट्रपतिमा जित हासिल गर्नका लागि अब बाइडेनलाई ६ इलेक्टोरल मतको खॉचो छ । डेमोक्रेटिक पार्टीको पकडक्षेत्र मानिएको राज्य नेभादामा बाइडेनको जित निश्चित भएको बताइएको छ ।
उक्त नेभादा राज्यको कूल ६ इलेक्टोरल मतसहित उनलाई चुनाव जित्न आवश्यक २७० इलेक्टोरल मत सहज रूपमा प्राप्त हुने हुँदा बाइडेनको जित निश्चित भएको डेमोक्रेटिक नेताहरूले उल्लेख गरेका छन् ।