ओली र प्रचण्डबीच आज भेटघाटको तयारी, प्रचण्डले नयाँ प्रस्ताव गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज दिउँसो भेटघाटको तयारी भएको छ । बुधबार दुई अध्यक्षबीच भेट्ने तय भए पनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएकाले अध्यक्षद्वयको भेट स्थगित भएको थियो । यसअघि गत शनिबार दुई अध्यक्षबीच बालुवाटारमा भेट भएको थियो । चार दिनपछि विहीबार उनीहरूबीच भेटवार्ताको तयारी भएको हो ।

नेकपामा विवाद उत्कर्षमा पुगेको बेलामा दुई अध्यक्षबीच ठोस कुराकानीको तयारी भएको बताइन्छ । यसअघिकको भेटमा पार्टी अलग गरेर अगाडि बढ्न चुनौति दिएको ओलीले आज भने प्रचण्डलाई फकाउने तयारी गरेको बुझिन्छ । गत सोमबार पनि ओलीले दुई अध्यक्षबीच सहमति जुटाएर सचिवालय बोलाउन तयार रहेको भन्दै बालुवाटारमा आमन्त्रण गरेका थिए । तर प्रचण्डले भने दुई अध्यक्षबीचको वार्ताले जारी विवाद समाधान नहुने भन्दै पार्टी कमिटीमार्फत नै समस्याको हल गर्न दवाव दिंदै आएका थिए ।



यता प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत पुर्याउने तयारीस्वरुप आफूनिकट नेताहरुलाई विभिन्न प्रलोभनमा पर्न थालेपछि प्रचण्डले ओलीसँग तत्काल संसदीय दलको निर्वाचनको प्रस्ताव राख्ने तयारी गरेको स्रोतको भनाइ छ । ओली पार्टी मिलाउनभन्दा नेता तानातान गर्ने र आपसमा लडाउने रणनीति लिएको भन्दै माधव नेपालले नै प्रचण्डलाई संसदीय दलको पुनः निर्वाचनको प्रस्ताव राख्न आग्रह गरेको बताइन्छ ।

प्रधानमन्त्री ओलीले हिजो मात्र प्रदेश १ का आफूनिकट नेताहरूलाई जबज कमिटीलाई तल्लो तहसम्म विस्तार गर्न निर्देशन दिएका थिए । आफूविरुद्ध केन्द्रमा घेराबन्दी भएको भन्दै पार्टी जुनसुकै बेला फुट्न सक्नेतर्फ संकेत गर्दै तयारी अवस्थामा रहन उनले कार्यकर्तालाई निर्देशन दिएका थिए । साथै हिजो नै एक कार्यक्रममा उनले आफूलाई ५ वर्ष सरकार चलाउन जनताले म्याण्डेड दिएको भन्दै बीचमै राजीनामा नदिने बताएका थिए ।

ओली र प्रचण्ड समूह केही दिनयता वार्ताबाट पछि हट्दै आ–आफ्नो रणनीति तय गर्न जुटेकोले नेकपा विवाद जहाँको त्यही छ । दुबै अध्यक्षको तयारी हेर्दा आजको भेटपछि नेकपाको जारी विवाद अझैं चर्किने देखिन्छ ।

सम्बन्धित समाचार