नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कात्तिक ।
पछिल्लो समयमा नेपाली गीत–संगीतको क्षेत्रमा गीत लेख्ने र गाउने कलाकारहरुको बाढी नै आएको छ । हिन्दुहरूको महान् चाड दशैं, तिहार, छटआदिलाई लक्षित गरी विभिन्न कलाकारहरूले नयाँ नयाँ प्रस्तुतिहरू बजारमा ल्याइरहेका छन् । यसैक्रममा कमला मुस्कानको म्युजिक भिडियो ‘जुधे आँखा’ पनि हालै बजारमा आएको छ ।
कमला मुस्कानकै शब्द र संगीत रहेको म्युजिक भिडियो जुधे आँखाले विशेष गरी युवा पुस्ताको मायाप्रेमलाई आफ्नो विषयवस्तु बनाएको छ भने यस म्युजिक भिडियोको लगानी पनि मुस्कानकै रहेको जनाइएको छ ।
कात्तिक १८ गते मुस्कानको आफ्नै युट्युब च्यानलबाट रिलिज गरिएको यस भिडियोले छोटै समयमा धेरै संगीत प्रेमीहरूको मन जित्न सफल भएको मुस्कानले बताइन् । गीतका शब्द र परिवेशका बारेमा मुस्कानले भनिन् ‘यो संसार नै प्रेमिल छ । हरेक मान्छे मायाको भोको हुन्छ, अभिव्यक्त गर्ने तरीकाहरू भने फरक फरक हुन सक्छन् । अतः यस संसारमा माया प्रेमको अभावमा कोही पनि बाँच्न सक्तैन भन्ने महसुस गरी एउटा युवा मुटुले महसुस गर्ने माया–पे्रमलाई म आफैंले अनुभूत गरी मैले यो गीतमा तयार गरें र गाएँ पनि ।’
सुयश शाक्यको निर्देशन रहेको यस म्युजिक भिडियोमा आरके गौतम र अस्मिता बास्तोलाको अभिनय रहेको छ ।