झनै चर्किने देखियो नेकपाको विवाद, ओली–प्रचण्डबीच छलफलमै चर्काचर्की

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा छलफल भएको छ । आजको छलफलपछि नेकपाको विवाद थप चर्किने देखिएको छ । झण्डै तीन घण्टा वार्तामा बसेका ओली प्रचण्ड एक अर्कामा आरोप प्रत्यारोपमै समय बिताएका थिए ।

प्रचण्डले छलफलकै क्रममा ओलीले आफूनिकट नेताहरूको भेलामा जबजलाई पार्टीको तल्लो कमिटीसम्म विस्तार गर्न आग्रह गरेकोमा आपत्ति जनाएका थिए । साथै पार्टी फुट्नसक्छ भन्दै कार्यकर्तामा प्रशिक्षण दिएर विवादलाई संस्थागत गर्ने काम गरेको आरोप लगाएका थिए ।



साथै प्रचण्डले ओलीसँग ‘तपाईको राजीनामा कसले मागेको छ ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । हिजो एक कार्यक्रममा ओलीले आफ्नो राजीनामा पार्टीभित्रकै साथीहरुले मागेको भन्दै राजीनामा नदिने बताएका थिए । प्रचण्डले राजीनामा मागेको प्रचार गरेर जारी विवादलाई विषयान्तर नगर्न चेतावनी दिएका थिए । साथै प्रचण्डले जारी विवाद पार्टी कमिटीमै छलफल गरेर अन्त्य गर्नुपर्ने बताएका थिए ।

तर ओलीले भने पार्टी फुटको अभ्यास खुमलटारबाटै भएको आरोप लगाए । ‘तपाईहरू दैनिक गुटगत भेला गर्न हुने तर मैले एकदिन कार्यकर्तासँग जुम मिडिङ गर्न नहुने ?’ भन्दै ओलीले प्रचण्डलाई प्रश्न गरेका थिए । साथै ओलीले अविश्वासको प्रस्तावको तयारी गरेकोबारे आफूलाई पनि जानकारी आएको भन्दै यो सरकार जनताको चाहनाले गठन भएको भन्दै सरकार पाँच वर्ष टिकाउन जुनसुकै विषयको मुकाबिला गर्ने बताएका थिए । समग्रमा ओली प्रचण्डबीचको आजको छलफल आरोप प्रत्यारोपमै सकिएको थियो ।

राजदूत सिफारिस, मन्त्रिमण्डल हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, रअ प्रमुखसँगको भेटलगायत कारण नेकपाका दुई अध्यक्षबीच विवाद बढ्दै गएको थियो । यसै पेरिफेरिमा वार्ता गर्न बालुवाटार पुगेका प्रचण्डलाई ओलीले पार्टी अलग गरेर अगाडि बढ्न प्रस्ताव गरेपछि नेकपाको विवाद थप चर्किएको थियो । तर दोस्रो तहका नेता र कार्यकताएको दबावपछि सहमति खोज्न भन्दै आज ओली प्रचण्डबीच छलफल भएको थियो ।
प्रचण्डले आज ओलीसँग वार्तामा बस्नुअघि कानुनविद्सँग पनि वार्ता गरेका थिए । त्यसैगरी ओली पनि विवाद बढ्दै जाँदा संसदीय दलमा बहुमत जुटाउने तयारीमा लागिपरेका छन् । दुबै समूह आ–आफ्नो रणनीति तय गर्दै अगाडि बढ्दा नेकपा फुट्ने चिन्त कार्यकर्तामा व्याप्त देखिन्छ ।

सम्बन्धित समाचार