ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड-नेपाल समूहको तयारी, ओली भन्छन् -‘सामना गर्छु’

पार्टीभित्रको विवाद चर्किदै जाँदा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित सो समूहका नेताहरुले कानुनविद्हरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताइरहेका बेला अविश्वासको प्रस्ताव दर्ता गर्दा उनले चाल्नसक्ने संभावित कदम र त्यसको कानुनी उपचारका बारेमा छलफल भएको बताइन्छ ।

पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग शक्ति संघर्ष चर्किरहेका बेला प्रचण्ड–नेपालले वरिष्ठ कानुनविद्सँग जनवर्गीय संगठनको कार्यालय रहेको पेरिसडाँडामा विहीबार छलफल गरेका हुन्। छलफलको क्रममा कानुनविद्हरुले ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउनसक्ने र संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नसक्नेबारे सचेत गराएका थिए । यद्यपी प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव लाने या पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव लाने भन्नेबारेमा सो समूह थप छलफलमै रहेको बताइन्छ ।



छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य रघुजी पन्त, मात्रृका यादव, नेकपा संसदीय दलका प्रमुख सचेतक तथा स्थायी समिति सदस्य देव गुरुङ, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित पाँच जना उपस्थित रहेको स्रोतले जनाएको छ।

सबै षडयन्त्र परास्त गरिनेछः प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बताउँदै त्यसलाई परास्त पार्ने बताएका छन् । कोटेश्वरमा प्रचण्ड समूह छलफलमै रहेको बेलामा मन्त्रिपरिषद्को बैठकमा व्यस्थ ओलीले यस्तो बताएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले दाहालको नाम नलिइकन सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको आफूले सूचना पाएको बताएका थिए ।

उनको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने, ‘कोटेश्वरमा बसेर षडयन्त्र भएको छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी रहेछ । सबै प्रकारका षडयन्त्रलाई परास्त गरिनेछ ।’

सम्बन्धित समाचार