सचिवालयको माग गर्दा उल्टै ओलीले झपारेपछि पार्टी एकता जोगाउन नसकिने भयो भन्दै फर्कियो प्रचण्ड–नेपाल समूह

नेकपा अध्यक्ष केपी ओलीलाई असन्तुष्ट समूहले सचिवालय बैठकको माग गर्दै लिखित पत्र बुझाएको छ। सो समूहले बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएको हो। त्यस अघि सो समूहले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा करिब तीन घन्टा छलफल गरेको थियो। टोलीमा अर्का अध्यक्ष पुष्पकम दाहाल नेतृत्वमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम सामेल थिए ।

ओलीको एकलौटी कार्यशैली र व्यवहारविरुद्ध एक भएको यो समूहले केन्द्रीय सचिवालय बैठक ओलीकै सहमतिमा डाक्न चाहेको छ। तर ओलीले यो बैठक आफ्नो राजीनामा मागका लागि बसाल्न लागेको भन्दै यो बैठक डाकिएमा पार्टी फुटको घोषणा गर्ने चेतावनी प्रचण्डलाई यसअघि दिइसकेका थिए । शनिबारको भेटमा पनि ओलीले सोही कुरा दोहोर्याए । हिजो यो समूहले धुम्बाराहीमा केन्द्रीय सचिवालयको अनौपचारिक बैठक डाकेको थियो। जहाँ आज संयुक्तरुपमा ओलीलाई भेटेर बैठक बोलाउन सहमत हुन आग्रह गर्ने निर्णय गरिएको थियो ।



सचिवालयका एक नेताका अनुसार आफूइत्तरका नेताहरुसँग ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले आफूविरुद्ध ५ नेताले गुटबन्दी गरेको गम्भीर आरोप लगाएका थिए भने भने आफूले कुनै पनि हालतमा बैठक नबोलाउन भन्दै जंगिएका थिए ।

‘म बैठक बोलाउन्नँ । किन बोलाउने ? मेरा विरुद्ध गुटबन्दी गर्ने ? मलाई असफल पार्न खोज्ने ?’ ओलीको आक्रोश थियो । ओलीले आफूलाई सँधै अफ्ठारोमा पार्ने काम पार्टीभित्रै बाट भइरहेको भन्दै जनमतको अपमान नगर्न समेत चेतावनी दिए ।

ओली आक्रामक रुपमा प्रस्तुत भएपछि प्रचण्डपनि जंगिएका थिए । उनले गुटबन्दीको आफूहरुले नभइ ओलीबाटै भएको जवाफ फर्काएका थिए । जबज ब्यूँताउने भन्दै जुम बैठक गरेर गुटबन्दीको आह्वान ओलीले गरेको प्रचण्डको आरोप थियो । यस्तै हरेक विषयमा मनपरी गर्ने तथा पार्टीमा कुनै छलफल नगरेको भन्दै ओलीको आलोचना गरेका थिए ।

बैठकभर ओली र ५ नेताहरुबीच एकले अर्कालाई आरोप प्रत्यारोपमै २ घण्टा सकिएको थियो । ओली पार्टी एकतालाई लिएर गम्भीर नभएको पाएपछि प्रचण्ड नेपाल समूह पार्टी एकता जोगाउन नसकिने भयो भन्दै उनीविरुद्ध थप रणनीति तय थर्न जुटेका छन् ।

सम्बन्धित समाचार