पूर्वएमालेहरू एक हुने सम्भावना बढ्यो, माधव नेपालले ओलीलाई भने ‘ठोस प्रस्ताव ल्याउनुहोस्’

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली पूर्वएमालेहरूलाई एक बनाउन हदैसम्मको लचक हुने भएका छन् । आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीनिकट नेताहरूसँग ओलीले पूर्वएमालेलाई एक बनाएर नेकपाको नेतृत्व लिन नेपाललाई आग्रह गरेको स्रोतको भनाइ छ । बालुवाटारमा भएको भेटवार्तामा ओलीले आफू स्वास्थ्य अवस्थाका कारण पनि धेरै समय सक्रिय राजनीति गर्न नसक्ने भन्दै यस्तो प्रस्ताव गरेको उक्त भेटमा सहभागी एक नेताले बताए ।

आजको छलफलमा ओलीले महाधिवेशन नजिकिएकोले पनि पूर्वएमालेहरू एक नभए नेकपा माओवादीमय हुने भन्दै चिन्ता व्यक्त गरेका थिए । नेता नेपाललाई ‘पूर्वएमालेहरूलाई एक बनाउन सक्नुहुन्छ भने म पार्टी अध्यक्ष नै तपाईलाई बनाउन सघाउनेछु’ छलफलमा ओलीले भनेका थिए । साथै ओलीले अर्का वरिष्ठ नेता झलनाथ खनाललाई पनि पार्टीमा सम्मानजनक स्थान दिन आफू सकारात्मक रहेको बताएका थिए ।



जवाफमा नेपालले ठोस प्रस्ताव ल्याउन आग्रह गरेका छन् । पार्टीमा समस्या रहेको भन्दै बैठकबाट हल खोज्न सुझाएको पनि नेता पाण्डेले जानकारी दिएका छन् । नेपालले ओलीसँग कुन हदसम्मको लचिलो हुन चाहेको हो र त्यसको ज्ञारेन्टी के हुने भन्नेसम्म आस्वस्त हुने माध्यमको खोजी गरेका थिए । ओलीले थप तयारी गरेर सहमतिको खेस्रा तयार गर्ने बताएपछि नेपाल समूह बालुवाटारबाट बाहिरिएको थियो ।

नेपाल समूहसँग ओली निकै लचिलो भएर प्रस्तुत भएको र नेता नेपाललाई अध्यक्ष बनाउन तयार भएकोले जारी शक्ति संघर्षमा पूर्व एमालेहरू एक हुने सम्भावना बढेको छ । पछिल्लो शक्तिसंघर्षलई हेर्दा अध्यक्षद्वय ओली र प्रचण्ड एक हुन नसकेको अवस्थामा नेकपा फुट्ने देखिन्छ । नेपाल ओलीसँग मिलेर पूर्वएमाले एक भएमा स्वतः प्रचण्ड नेकपाबाट बाहिरिनेछन् भने नेता नेपाल प्रचण्डसँगै रहेर ओलीलाई दवाव दिइरहेमा ओलीले नै पार्टी फुटाउने अवस्था सिर्जना हुने आँकलन गरिएको छ ।

शनिबारमात्रै कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालसहित पाँचजना सचिवालय सदस्यले बैठक बोलाउन लिखित पत्र ओलीलाई बुझाएका थिए । त्यसक्रमा ओली र प्रचण्डसहितका नेताहरूबीच एकले अर्कोलाई पार्टी फुटाउन खोजेको आरोप लगाएका थिए ।

प्रचण्डसँग यस्तो सवाल जवाफ भएको भोलिपल्ट नेता नेपाललगायतका नेताहरूसँग ओलीले भेटवार्ता गरेका हुन् । भेटमा नेता नेपाल र रावलसहित सुरेन्द्र पाण्डे रघुजी पन्त सहभागी थिए । दलबलसहित ओलीलाई भेटेका नेपालले ठोस प्रस्ताव ल्याउन ओलीलाई आग्रह गर्नुले नेकपाको शक्ति संघर्षमा हेरफेर हुने संकेतको रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार