ओलीको सन्देश लिएर खुमलटार पुगेका महासचिव पौडेललाई प्रचण्डले राखे यस्तो प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर खुमलटार आएका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रस्ताव राखेका छन् । बहुमत सचिवालय सदस्यको आग्रहबमोजिम ओलीले सचिवालय बैठक नबोलाउने हो भने संसदीय दलमा बहुमत रहेको देखाउनुपर्ने प्रस्ताव प्रचण्डले गरेका छन् । सचिवालयले राजीनामा माग्ने डर भए ओलीले संसदीय दलको निर्वाचन गरेर आफू बहुमतमा रहेको प्रमाणित गर्नुपर्ने प्रचण्डको तर्क छ ।

प्रचण्ड सहितका पाँच नेताले शनिबार अध्यक्ष ओलीलाई भेटेर तत्काल पार्टीको बैठक बोलाउन लिखित पत्र बुझाएर दुई दिनभित्र पार्टी बैठक बोलाउन आग्रह गरेका थिए। त्यो दुई दिनको म्याद आज सकिदै छ। पार्टी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्ष सहमति गर्नुपर्ने बताउँदै आएका ओलीलाई बहुमत सचिवालय सदस्यले बैठक माग गरेपछि उनी नैतिक दबाबमा छन्।



प्रधानमन्त्री ओलीले पाँचजना नेतालाई आफूले सल्लाह गरेर बैठक बोलाउने बताएका थिए। त्यसपछि उनले शनिबार र आइतबार पनि महासचिव पौडेललगायत आफूपक्षीय नेताहरुसँग छलफल गरेका थिए । सोही छलफलको सन्देश लिएर खुमलटार पुगेका महासचिव पौडेल प्रचण्डले संसदीय दलको निर्वाचनको प्रस्ताव राखेपछि पौडेलले ओलीसँग छलफल गर्ने बताएका थिए ।

पार्टीभित्र संकटमा परेका ओलीले आइतबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका चार नेतासँग छलफल गरेर आफूलाइ सहयोग गर्न र पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेका थिए। नेता नेपालले विवादका विषयलाई पार्टी बैठक नै राखेर सल्टाउन जोड दिएका थिए।

सम्बन्धित समाचार