कोरोना संक्रमणबाट दाजुभाइले ज्यान गुमाए

मोरङमा कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु भएको छ । केराबारी गाउँपालिका –३ मा ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको हो । केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरूषको आइतबार र उनको ५७ वर्षीय भाइको १८ कात्तिकमा मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भाइको मृत्युले शोकमा डुबेको परिवारमा दाजुको मृत्युपछि थप शोक थपिएको छ ।
आइतबार मृत्यु भएका ५९ वर्षीय पुरूषमा ७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । दसैंको टीकाको दिनयता उनी अस्पतालमा थिए । उपचारका क्रममा आइतबार बिहान करिब ९ बजे विराट मेडिकल कलेजमा उनको मृत्यु भएको हो । उनलाई सुरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा बेड खाली नभएपछि विराटमा भर्ना भएका थिए ।



मृतकका ५७ वर्षीय भाइमा भने ५ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा १८ कात्तिकमा मृत्यु भएको हो । कोरोना संक्रमणका कारण मृत्यु भएका उनी शिक्षक हुन् । उनी पालिका स्तरीय कोभिड १९ नियन्त्रण समिति सदस्य पनि थिए ।

सम्बन्धित समाचार