नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कात्तिक ।

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विवाद चर्किएका बेला अब दुई अध्यक्ष बसेर छलफल र समझदारी गरेपछि मात्र सचिवालउ बैठक बोलाउँछु भन्न नपाईने बताएका छन् । उनले अहिले जसरी पनि सचिवालय बैठक छल्ने ठूलो प्रयास भइरहेको र त्यो पार्टी हितबिपरित रहेको बताए ।
पछिल्लो स्थायी कमिटी बैठकले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्यधिकार स्पष्ट पार्ने सन्दर्भमा एक नम्बर बुँदामा ‘अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो तथा केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तयार गर्ने र बैठक बोलाउने। सम्बन्धित कमिटी बैठकमा कार्यसूची पेश गर्ने, पारित गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने’ भनिएको छ। यसैलाई आधार बनाएर पार्टीका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल र समझदारी गरेर मात्रै केन्द्रीय सचिवालय बैठक डाक्ने अडान लिएका छन्।
नेता खनालले भने ‘अहिले अघिपछि जस्तो सामान्य अवस्था होइन । पार्टीमा जटिल समस्या देखिसकेपछि त्यो सबै समस्या समाधानका लागि केन्द्रीय सचिवालय हुँदै स्थायी र केन्द्रीय कमिटी बैठकसम्म हामी पुग्नै पर्छ। त्यसको अर्को विकल्प छैन।’
नेता खनालसहित प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम गरी सचिवालयका पाँच जनाले दुई दिन अघि शनिबार ओलीलाई केन्द्रीय सचिवालय बैठकका लागि सहमत हुन अनुरोधसहित लिखित पत्र बुझाएका थिए।
उनीहरुले बैठकका लागि ४८ घण्टाको अल्टिमेटम समेत ओलीलाई दिएको बताएका थिए। अल्टिमेटम सोमबार सकिएको छ। अब के गर्ने भन्नेमा आन्तरिक छलफललाई खनालसहित असन्तुष्ट समूहले तिब्रता दिएको छ।
