नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कात्तिक ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १ करोड २९ हजार ५ सय ५६ पुगेको हो। कोरोना संक्रमणका कारण हालसम्म अमेरिकामा २ लाख ३८ हजार २४ जनाको मृत्यु भइसकेको छ।
अमेरिकामा गत जनवरी २१ मा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। त्यसपछि ९८ दिनमा अप्रिल २८ मा १० लाख संक्रमित पुगे। त्यसयता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ । अप्रिल २८ देखि जुन ११ सम्मको ४४ दिनमा १० लाख अरु संक्रमित थपिए।
त्यसपछि २७ दिनमा ३० लाख, १५ दिनमा ४० लाख, २२ दिनमा ५० लाख, २२ दिनमा ६० लाख, २५ दिनमा ७० लाख, २१ दिनमा ८० लाख, १४ दिनमा ९० लाख संक्रमित पुगेको सिएनएनले जनाएको छ। पछिल्लो पटक १० दिनमै १० लाख संक्रमित थपिएको पाइन्छ।
अमेरिकामा सबैभन्दा बढी प्रभावित न्युयोर्कमा ३३ हजार ७ सय ५ जनाको मृत्यु भएको छ। यस्तै, टेक्सासमा १९ हजार २ सय २१, क्यालिफोर्नियामा १७ हजार ९ सय ८५ जना र फ्लोरिडामा १७ हजार १ सय १९ को मृत्यु भएको छ।