नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कात्तिक ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सचिवालय बैठक नबोलाएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले एकर्तीरुपमा सचिवालय बैठक अगाडि बढाउने तयारी गरेको छ । बहुमत सचिवालय सदस्य उपस्थित भएर स्थायी कमिटीको बैठक बोलाउने र सोही बैठकमार्फत प्रधानमन्त्री ओलीलाई सरकारबाट फिर्ता बोलाउने प्रचण्ड नेपाल समूहको तयारी रहेको छ ।
यता सचिवालय बैठक बोलाउने तयारी गरेका प्रचण्डलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेलले भेट गरेका छन। पोखरेलले मंगलबार बिहान अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास पुगेर भेटेका हुन्। उनले ओलीको सन्देश सहित प्रचण्डलाई भेटेका थिए ।
भेटमा पोखरेलले प्रचण्डलाई संयमता अपनाएर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । उनले कम्तिमा आज सचिवालय बैठक नबोलाउन आग्रह गरेका थिए । साथै पोखरेलले फेरि एकपटक ओलीसँग वार्तामा बसेर सहमति खोज्न पनि आग्रह गरेका थिए ।
प्रचण्डले भने आज प्रधानमन्त्री सचिवालय बैठक नबोलाएमा आफूले बोलाउने तयारी गरेको जानकारी दिएका थिए । साथै प्रचण्डले जारी विवाद स्थायी कमिटीले नै समाधान गर्ने भन्दै ओलीले बैठकबाट भागेर सुख नपाउने बताएका थिए ।
