नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कात्तिक ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद गम्भीर मोडमा पुगेको छ । पटक पटकको आग्रहमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सचिवालय बैठक नबोलाएपछि प्रचण्डले मंगलबार सचिवालयको औपचारिक बैठक डाकेका छन् । बैठक धुम्बाराहीस्थिति नेकपाको पार्टी कार्यालयमा अपरान्ह ४ बजे बोलाइएको छ ।
यता सचिवालय बैठकको आह्वान गरेपछि ओलीले प्रचण्डलाई बालुवाटारमा बोलाएका छन् । यतिवेला ओली र प्रचण्डबीच वार्ता जारी छ । एकतर्फी रुपमा सचिवालय बैठक बोलाएमा पार्टी फुटेको घोषणा गर्ने बताएका ओली र प्रचण्डबीच आज कुनै सहमति हुन नसकेमा नेकपा फुट्न सक्ने विस्लेषण गरिएको छ ।
यसअघि गत शुक्रबार प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । जसमा पाँचजना सचिवालयका सदस्यहरुको उपस्थिति थियो । उक्त बैठकले गरेको निर्णयबारे शनिबार लिखित पत्रसहित अध्यक्ष ओलीलाई सचिवालय बेठक बोलाउन माग गर्दै पत्र बुझाइएको थियो ।
उक्त बैठकले सकभर आइतबार वा सोमबारसम्म सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गरेको थियो । अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबारसम्म अध्यक्ष ओलीले सहमति नदिए बैठक डाक्ने जनाएका थिए ।
