ओलीसँग कार्यविभाजनको औचित्य सकियाे : प्रचण्ड–नेपाल समूह

नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लामो विवादपछि दोस्रोपटक दुई अध्यक्षबीच भएको कार्यविभाजनको औचित्य सकिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सहमति कार्यान्वयन नगरेपछि भदौ २६ गते स्थायी कमिटी बैठकले तय गरेको कार्यविभाजनको औचित्य सकिएको निष्कर्ष निकालेको हो।

यस्तो निष्कर्षपछि प्रचण्ड–नेपाल समूह अब सबै विषयमा छलफल र निर्णय क्रमशः सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट गर्ने तयारीमा जुटेको छ। ‘विवाद हल गर्दै सकिएको स्थायी कमिटी बैठकले स्पष्ट रूपमा दुई अध्यक्षको कार्यविभाजन गरेको थियो । तर, स्थायी कमिटीका निर्णय कार्यान्वयनमा प्रधाममन्त्री एवं पार्टी अध्यक्ष ओली तयार भएनन् । अब उक्त कार्यविभाजनको औचित्य सकियो,’ प्रचण्ड–नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्यले भने, ‘थप छलफल सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा हुन्छ।’



उनका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओली समूह सहभागी नभए पनि अब औपचारिक बैठकको प्रक्रिया शुरु हुन्छ। ७९ दिनसम्मको विवाद र शक्तिसंघर्षपछि २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले ‘अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट’ गर्ने गरी प्रस्ताव पारित गरेको थियो।

प्रस्तावअनुसार ओली प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने तथा प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने गरी कार्यविभाजन गरिएको थियो।

सम्बन्धित समाचार